logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

इन्धन महगिँदा किसानलाई मार, सिँचाई र खनजोतका लागि समस्या


  • उज्यालो अभियान

लालबन्दी, ०४ बैशाख – मध्यपूर्वमा जारी द्वन्द्वका कारण डिजेलको मुल्य निरन्तर बढ्दा किसान मारमा परेका छन् ।

एक महिनाको अवधिमा डिजेलको मुल्य दोब्बरले वृद्धि हुँदा पम्पसेट चलाएर सिँचाई गर्ने र ट्याक्टर लगाएर खेतबारी जोत्ने खर्च धान्नै नसक्ने अवस्था आएको किसानको गुनासो छ । सर्लाहीमा अहिले डिजेलको मुल्य प्रतिलिटर २३६ रुपियाँ पुगेको छ ।

सर्लाहीसहित मधेश क्षेत्रमा अहिले चर्को घाम लाग्न थालेकाले मकै, तरकारीलगायतका बाली सुक्न नदिन बारम्बार सिँचाई गर्नुपर्ने अवस्था रहेको किसानले बताएका छन् ।

डिजेल महँगो भएसँगै ट्याक्टरधनीले खेतबारी जोतेको पैसा पनि बढाएका छन् । गहुँ बाली भित्याइसकेको र बाँझो रहेको खेतबारीमा अहिले ट्याक्टरले जोतेर कतै चैते धान रोप्ने त कतै मकै छर्ने काम भइरहेको छ ।

ईश्वरपुर नगरपालिका–१०, बेलाका लक्ष्मीनारायण चौधरीले डिजेलको मुल्य अत्यधिक बढेसँगै ट्याक्टरले एक घण्टा जोतेको दुई हजार पाँच सय रुपियाँसम्म लिन थालेको गुनासो गरेका छन् । किसानले यसअघि ट्याक्टरमार्फत खेतबारी जोताउँदा प्रतिघण्टा एक हजार चार सयदेखि एक हजार छ सय रुपियाँसम्म तिर्ने गरेका थिए ।

जिल्लामा नेपाल विद्युत प्राधिकरण र पालिकाहरुले धेरैजसो ठाउँमा कृषि विद्युतीकरण गरे पनि बिजुली नपुगेको ठाउँका किसान पम्पसेटकै भरमा सिँचाई गर्न बाध्य रहेका छन् ।