बयलवास, २६ चैत – ग्रामीण नारी उत्थान संघ हरिपुरले नगर अस्पताल ईश्वरपुरलाई युएसजी मेसिन प्रदान गरेको छ ।
संस्थाले सेभ द चिड्रेनको साझेदारीमा संचालित समुन्नति परियोजनाको आर्थिक सहयोगमा ईश्वरपुर नगरपालिका ६ बयलवासमा रहेको नगर अस्पताललाई एक थान युएसजी मेसिन प्रदान गरेको हो । ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवि न्यौपानेले नगर अस्पतालको संचालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष योगेश केसीलाई युएसजी मेसिन हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा नगर प्रमुख मनोजकुमार आचार्य, प्रमुख प्रशासकीय अधिकृत डा. पंकजकुमार साह, स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोलगायतको उपस्थिति थियो । नगर अस्पताललाई ८ लाख ७४ हजार ९९९ रुपैयाँ बराबरको युएसजी मेसिन प्रदान गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनायो ।
ईश्वरपुर नगरभित्रका महिलालाई ग्रामीण अल्ट्रासाउण्ड सेवा अन्तर्गत मातृ स्वास्थ्य सम्वन्धी गुणस्तरीय सेवा प्रदान गर्न युएसजी मेसिन प्रदान गरिएको संस्थाकी अध्यक्ष न्यौपानेले बताईन् ।