बुधबार साँझ इन्दुशंकर चिनी उद्योगमा उखुका सबारी साधन भित्रिने गेट अवरुद्ध गरेर विरोध प्रदर्शन गरिरहेका स्थानीय । (तस्बिर : उज्यालाे अभियान)
हरिवन, २५ चैत – सर्लाहीको हरिवनमा संचालित इन्दुशंकर चिनी उद्योग र सँगै रहेको अमरावती डिस्टिलरी दुर्गन्धका कारण अत्यधिक झिँगा आतंकको हैरानी व्यहोर्नु परेको भन्दै स्थानीयले बुधबार साँझ इन्दुशंकर चिनी उद्योगको मुलगेट बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।
हरिवन नगरपालिका–८ का स्थानीय महिलाहरुको अगुवाईमा इन्दुशंकर चिनी उद्योगमा उखुका सबारी साधन भित्रिने गेट पौने घण्टा अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको हो । उखुका सबारी साधन भित्रिने गेटमै महिलाहरुसहित स्थानीयले धर्ना दिएका थिए । उनिहरुले उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपाललाई ध्यानाकर्षण गराउँदै गेटमा अवरुद्ध गरेका हुन् ।
प्रशासकीय प्रमुख नेपालका अनुसार आगामी सोमबार उद्योगका सञ्चालक राजेश केडिया आफै स्थानीयसँग वार्ता गर्न आउने भएका छन् ।
हरिवन नगरपालिका ८ की सुमित्रा दाहालले अत्यधिक झिँगा लाग्दा हरिवन ८ स्थित नारायणचोक तथा त्यसपूर्वका वासिन्दा अत्यधिक पीडित बनेको गुनासो गरिन् । दुर्गन्ध एवं झिँगा आतंकले हरिवन नगरापलिका–८ तथा ११ का बासिन्दा प्रभावित छन् । खासगरी उद्योगले उत्पादन गर्ने मललाई प्रशोधन गर्ने क्रममा विभिन्न सामग्री मिश्रण गर्ने क्रममा झिंगा उत्पादन हुने गरेको र दुर्गन्धपनि अत्यधिक बढेको स्थानीयको भनाई छ ।
झिँगा नियन्त्रणको माग गर्दै चिनी उद्योग पुगेका स्थानीयले मंगलबार समेत ध्यानाकर्षण पत्र बुझाउँदै उद्योग प्रशासनमा केहीबेर धर्ना दिएका थिए । उनिहरुले मंगलबार हरिवन नगरपालिका कार्यालयमा समेत केहिबेर प्रदर्शन गरेका थिए । स्वच्छ रुपले बाच्न पाउने अधिकार हनन नगर्न आग्रह गर्दै यदि झिँगासहित दुर्गन्ध र प्रदुषण नियन्त्रण नै नगर्ने हो भने उद्योग नै बन्द गर्न समेत माग राखिएको छ ।
यसअघि निकै वर्षसम्म स्थानीयले निरन्तर आन्दोलन गरेका कारण चिनी उद्योगको बोइलरबाट निस्कने धुवाँसगै उड्ने धुलो भने उद्योगले प्रविधि थपेर निकै हदसम्म न्यूनिकरण गरेको छ ।