logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सिडिओ कार्यालयले भन्यो–नदीजन्य पदार्थमा अनियमितता भए पालिका जिम्मेवार


  • उज्यालो अभियान

मलंगवा, २१ चैत – जिल्ला प्रशासन कार्यालय सर्लाहीले नदीजन्य पदार्थको ठेक्का लगाउने पालिकालाई उत्खननबारे कडाईका साथ अनुगमन र नियमन गर्न ध्यानाकर्षण गराएको छ ।

कार्यालयका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले शुक्रबार जिल्लाका २० वटै पालिकालाई पत्र पठाउँदै नदीजन्य पदार्थमा अनियमितता भए पालिका जिम्मेवार हुने उल्लेख गरेका हुन् । पालिकाहरुले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेको नदीजन्य पदार्थको उत्खनन कार्य मापदण्ड विपरीत भइरहेको, त्यस्तो उत्खननबाट भू–क्षय, बाढी, पहिरो, पुल भासिने, मानवीय क्षति पुग्ने गरेको, वातावरणमा समेत नकारात्मक असर पर्ने गरेको भनि विभिन्न सञ्चारमाध्यममा समाचार आएका र जनगुनासोसमेत आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रशासन कार्यालयले जनायो ।

प्रमुख जिल्ला अधिकारी कडरियाले पालिकालाई पठाएको पत्रमा नदीजन्य पदार्थको व्यवस्थापन पालिकाबाट हुने हुँदा जिम्मेवार निकाय पनि पालिका नै हुने भएकाले उत्खनन हुने स्थानमा अनुगमन गरी अनियमितता भए/गरेको भए कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । नदीजन्य पदार्थको उत्खनन, संकलन, बिक्री वितरणमा अनियमितता भए त्यस्तो सम्झौता गरी अनुमति दिने पदाधिकारी स्वयं जिम्मेवार हुने कडरियाले बताए ।

त्यस्ता प्रकारका अनियमितता रोक्न/नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय/सुरक्षा निकायको सहयोग र समन्वय रहने सिडिओ कडरियाले उल्लेख गरेका छन् ।

स्थानीय तहलाई पठाइएको पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सोही कार्यालयका सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई समेत पठाइएको छ ।