कबिलासी, १९ चैत – सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाहिर आज एसइइ सञ्चालन भइरहँदा मोबाइलमा प्रश्नपत्र भेटिएपछि एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कविलासी नगरपालिका–५, पचगछिया बस्ने मनोज यादव रहेका सर्लाही प्रहरीले जनाएको छ । परीक्षा केन्द्रबाहिर बसिरहेका उनको मोवाइलमा एसइइ अन्तर्गत आज सञ्चालन भइरहेको अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र रहेको सुनिएपछि प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएको थियो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले यादवको साथमा रहेको मोबाइलबाट प्रश्नपत्र फेला परेपछि नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको उज्यालो अभियानसँग बताए । परीक्षा सञ्चालन भइरहँदा यादवले प्रश्नपत्र कहाँबाट पाए भन्ने विषयमा अनुसन्धान भइरहेको सिडिओ कडरियाले जानकारी दिए ।
स्रोतका अनुसार पक्राउ परेका यादवकै परिवारका एक सदस्यले एसइइ दिइरहेको पाइएको छ । यो वर्षदेखि एसइइको परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोवाइल फोन बोक्न दिइएको छैन् ।
परीक्षार्थीका अभिभावक तथा शुभेच्छुकलाई परीक्षा केन्द्रको २०० मिटर वरपर बस्न नदिने व्यवस्थासमेत मिलाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाले जनाएको छ ।