मलंगवा, १२ चैत – नेपाली कांग्रेस सर्लाहीले फागुन २१ को चुनावपछि आफ्ना नेता, कार्यकर्तामाथि सुनियोजित किसिमले मुद्दा दायर गर्न सुरु गरिएको बताएको छ ।
कांग्रेस सर्लाहीले आज सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी गत वर्ष नै बसबरियामा भएको एउटा सामान्य विवादको घटनालाई लिएर निवर्तमान जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, नेता गजेन्द्र साहलगायतमाथि मुद्दा लगाइएकोप्रति आपत्ति जनाएको हो । प्रहरी कार्यालयमा सहमति भइसकेको विषयलाई अहिले राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरी कांग्रेस नेता, कार्यकर्तामाथि अन्याय गरिएको कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोजकुमारले बताए ।
निर्वाचनपछि बदनियतपूर्ण फसाउने किसिमले प्रहरी कार्यालय हुँदै सर्लाही जिल्ला अदालतसम्म मुद्दा पुगेपछि कांग्रेस सर्लाहीले प्रेस विज्ञप्तीसमेत निकालेर भत्र्सना गरेको छ ।
कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले सम्वन्धित निकायले आफ्नो भुल अविलम्ब नसच्याए कडा प्रतिवादमा उत्रने पत्रकार सम्मेलनमा चेतावनी दिएका छन् ।
