लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।
लालबन्दी, ११ चैत – सर्लाहीको लालबन्दी नगरपालिकाले कक्षा ८ को नगरपालिका स्तरीय परीक्षा अन्तर्गत आजका लागि तय गरिएको सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको परीक्षा स्थगित गरेको छ ।
प्रश्नपत्र बाहिरिए पछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले हिजो नै सूचना जारी गर्दै आजको परीक्षा स्थगित गरिएको जानकारी दिएका हुन् । अब आज स्थगित भएको विषयको परीक्षा चैत १७ गते संचालन गरिने लालबन्दी नगरपालिकाको शिक्षा शाखाका प्रमुख लक्ष्मी शिवाकोटीले उज्यालो अभियानसँग बताइन् । उनका अनुसार आज स्थगित परीक्षा १७ गते हुने भएपनि अन्य परीक्षा भने यसअघि प्रकाशित तालिका अनुसार नै हुने छ ।
प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान भइरहेको नगरपालिका कार्यालयले जनाएको छ ।
कक्षा ८ को परीक्षा यसअघि शिक्षा विकास तथा समन्वय इकाइ (साबिकको जिल्ला शिक्षा कार्यालय) ले लिने गरेको भए पनि केही वर्षदेखि पालिकाहरुले नै लिँदै आएका छन् ।