हरिवन, ०८ चैत – सर्लाहीमा आज मौसम सफा भएर उघ्रिएसँगै जनजीवन सामान्य बनेको छ ।
यहाँ आज बिहानैदेखि चर्को घाम लाग्न सुरु भएको हो । यसअघि शुक्रबार बेलुकादेखि मध्यरातसम्म हावाहुरीसहित वर्षा र हिजो पनि दिनभर नै पानी परेको थियो ।
आज भने मौसम उघ्रिएसँगै मानिसहरु नियमित काममा फर्किएका छन् । मौसम उघ्रिएर गाउँबस्ती, बजार तथा डाँडापाखा सबै छ्याङ भएर उघ्रिएको स्थानीयले बताएका छन् । पानी परेपछि धुलो, धुँवाको प्रदुषण कम भएको छ ।
वन क्षेत्रमा लागेको डढेलो पनि तत्कालका लागि निभेको स्थानीयको भनाइ छ । पर्याप्त पानी परेपछि आकाशे वर्षाको भर रहेको चुरेभेग र पूर्वपश्चिम राजमार्ग आसपासका किसान खेतबारीमा मल हाल्ने, बाँझो खेतबारी जोत्ने, मकै रोप्नेलगायत काममा जुटेका छन् ।
हावाहुरी र पानीले घोगा लागिसकेको हाइब्रिड मकैमा क्षति गरेको छ । पाक्न लागेको गहुँ बाली, तरकारी, चना, मुसुरो, आलसलगायतका दलहन बालीमा पनि पानीले सामान्य क्षति गरेको किसानले बताएका छन् । यो वर्ष चैतको सुरुमै पर्याप्त पानी परेपछि सुक्खा क्षेत्रमा चाँडै घाँसका पालुवा पलाउने भएपछि पशुपालक किसानलाई समेत राहत मिलेको छ ।
तत्कालका लागि खोला, कुलो, नहरहरुमा पानी बग्न पाएको किसानले बताएका छन् । ठुलो पानी परेकाले सुकेका पानीका मुहानमा पुनः पानी रसाउन थालेको हाम्रा संवावददाताले जनाएका छन् ।
पानी परेपछि निर्माणाधीन पूर्वपश्चिम राजमार्ग र भित्री कच्ची सडकहरुमा तत्कालका लागि धुलो उड्न कम भएको छ ।