लालबन्दी, ०४ चैत — पछिल्लो केही दिनदेखि सर्लाहीमा तरकारी उत्पादनमा गिरावट आएसँगै बजारमा हरियो तरकारी कम मात्रामा भित्रन थालेको छ ।
फागु पूर्णिमा र निर्वाचनको समयमा तरकारी उत्पादन कम हुँदा बजारमा अभाव सिर्जना हुन थालेको हो । सर्लाहीका बजारमा अहिले गोलभेँडा निकै कम परिमाणमा भित्रिरहेको व्यापारीले बताएका छन् ।
अब स्थानीय जातको गोलभेँडा फल्नेयाम सकिएकाले पनि अभाव हुन थालेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ । व्यावसायिक तरकारी खेती गर्ने सर्लाहीको एक दर्जन पालिकाका किसान र महोत्तरीका किसानले समेत लालबन्दी बजारमा ल्याएर तरकारी बिक्री गर्ने गरेका छन् ।
कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले खडेरीको याम सुरु भएकाले अब हरियो तरकारीको उत्पादन विस्तारै घट्दै जाने र बाहिरी जिल्लाहरुको उत्पादनमा भर पर्नुपर्ने बताए । “हाम्रो क्षेत्रमा तरकारी खेती हुने ठाउँहरुमा सिँचाईको अभाव रहेकाले अब सुक्खा हुने केही महिना तरकारी कम उत्पादन हुन्छ,” घिमिरेले भने“किसानले नै कम तरकारी ल्याइरहेकाले हिजोआज यहाँबाट अन्यत्र जाने तरकारीको परिमाण घटेको हो ।”
लालबन्दी बजारबाट दैनिक आठ/नौ ट्रकसम्म तरकारी काठमाडौंलगायतका ठाउँमा निकासी हुने गरे पनि केही दिनदेखि दैनिक छ ट्रकको हाराहारीमा तरकारी निकासी भइरहेको घिमिरेको भनाइ छ । यहाँबाट सबैभन्दा धेरै गोलभेँडा निकासी हुने गरे पनि अब गोलभेँडा पाकेर सकिन लागेकाले निकासी हुने तरकारीको परिमाणमा गिरावट आएको उनले जानकारी दिए ।
सर्लाहीका किसानले अहिले गोलभेँडा प्रतिकेजी १८ देखि २० रुपियाँमा बिक्री गरिरहेका छन् । यहाँको गोलभेँडा सकिँदै गएसँगै अब भारतीय गोलभेँडा भित्रने व्यापारीको भनाइ छ ।
जिल्लाका किसानले अहिले सिमी, काउली, बन्दा र भान्टा भने प्रशस्त फलाएका छन् । यहाँको थोक तरकारी बजारमा सिमी ५० देखि ६० रुपियाँ, काउली ३८ देखि ४० रुपियाँ, बन्दा २२ देखि २५ रुपियाँ र भान्टा ६२ देखि ६५ रुपियाँ प्रतिकेजी बिक्री भइरहेको छ ।
यि बाहेक सर्लाहीमा अहिले अन्य हरिया तरकारीहरु बाहिरी जिल्लाबाट नै आयात भइरहेका छन् । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार पूर्वका विभिन्न जिल्ला र मकवानपुर, चितवन, धादिङलगायतका ठाउँबाट हरियो तरकारी सर्लाही आइरहेका छन् ।
बाहिरी जिल्लाबाट ल्याइएको भिन्डी ११० देखि १२० रुपियाँ, परबल ११० देखि १२० रुपियाँ, काक्रो ५० देखि ७० रुपियाँ, करेला ११० देखि १२० रुपियाँ र हरियो खुर्सानी १०० देखि १३० रुपियाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । ढुवानी खर्च लाग्ने भएकाले बाहिर जिल्लाबाट ल्याइएको तरकारी उपभोक्तासम्म पुग्दा महँगो मुल्य पर्ने गरेको छ ।