बयलवास, ०४ चैत – सर्लाहीको ईश्वरपुर नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि हिजोबाट औषधि छिट्न सुरु गरेको छ ।
नगर प्रमुख मनोजकुमार आचार्यले नगरको १५ वटै वडामा लामखुट्टे धपाउन घरघरमै पुगेर औषधि छिट्ने कार्यक्रम रहेको जानकारी दिए । मेयर आचार्यका अनुसार नगरपालिकाले खटाएका मानिस हिजोदेखि पालैपालो विभिन्न वडामा पुगेर औषधि छिट्न सुरु गरेका हुन् ।
हिजो बयलवास बजार क्षेत्रबाट औषधि छिट्ने कार्यको सुरुवात गरिएको हो । सर्लाहीसहित तराई क्षेत्रमा चिसो सकिएर गर्मी चढ्दै जान थालेसँगै लामखुट्टे असाध्य लाग्न थालेको छ ।
साँझ र रातको समयमा अत्यधिक लामखुट्टे लाग्दा स्थानीय प्रभावित छन् । लामखुट्टे नियन्त्रणका लागि सर्वसाधारणले औषधि छिट्नुपर्ने वा अन्य विकल्प अपनाउनुपर्ने स्थानीय तहसँग माग गरिरहेका छन् ।
तर स्वास्थ्यकर्मीले भने औषधि छिटेको केही समय हराए पनि पुनः उस्तै गरी लामखुट्टे आउने भएकाले घर वरपर सरसफाई गर्न र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गर्दै आइरहेका छन् ।
सर्लाहीमा केही वर्षअघिसम्म मलंगवा, बरहथवा, बयलवास, लालबन्दी, हरिवनलगायत बजार क्षेत्रमा अत्यधिक लाग्ने लामखुट्टे अहिले त गाउँघरमा पनि उत्तिकै लाग्न थालेको स्थानीयले बताएका छन् ।