नवराज अधिकारी/बागमती, ०३ चैत – हिजो बेलुकाको हावाहुरीले सर्लाहीमा मकै बालीमा जताततै क्षति गरेको छ ।
घोगा लाग्ने बेला भएको मकैका बोट हावाहुरीले ढलाएर क्षति गरेको किसानले गुनासो गरेका छन् । मुखैमा आइसकेको बालीमा हावाहुरी आएर क्षति गरेपछि किसान चिन्तित बनेका छन् ।
मल, सिँचाई र कामदारका लागि अत्यधिक खर्च गरेर हुर्काएको मकै बाली १० मिनेटजति चलेको हावाहुरीले सोत्तर पारिदिएको किसानको दुःखेसो छ ।
सर्लाहीमा हिजो बेलुका तीव्र गतिमा हावाहुरी चलेको थियो । निकै ठूलो हावाहुरी चले पनि पानी पर्न सकेन ।
हरिपुर नगरपालिका–२, सखुवाका ध्रुवप्रसाद प्रसाईले हावाहुरीबाट अन्य बालीमा खासै क्षति नभए पनि मकै भने सोत्तर पारेर ढालेको बताए ।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार हुरीबतासबाट मकै खेतीमा भएको क्षतिको विवरण पालिकाहरुको कृषि शाखाले संकलन गर्ने छन् ।
सर्लाहीमा १२ हजार ५०० हेक्टरमा हाइब्रिड मकै खेती हुने गरेको छ । गएसाँझको हावाहुरीपछि सर्लाहीमा बिजुली र इन्टेरनेट सेवा समेत प्रभावित बनेका छन् ।
बजार क्षेत्रमा रातिदेखि नै सूचारु भएको बिजुली आउने जाने भइरहेको छ भने ग्रामीण भेगमा गएसाँझदेखि नै बिजुली र इन्टरनेट अवरुद्ध रहेको स्थानीयले गुनासो गरेका छन् ।
बिजुली र इन्टरनेटको काम गर्न प्राविधिकहरु निरन्तर खटिएका छन् । यस्तै हिजो बेलुकाको हावाहुरीले विभिन्न स्थानमा खपडा, टाली र जस्ता पाताका छानोहरुमा क्षति गरेको स्थानीयले बताएका छन् ।