logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा जसपा भन्दा ‘बाँसुरी’ लाई बढी भोट, रास्वपालाई ६२ प्रतिसत मत


  • उज्यालो अभियान

लालबन्दी, २६ फागुन – सर्लाहीमा ४ वटै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाहीबाट समानुपातिकतर्फ एक लाख ८८ हजार भन्दा बढी मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिजयी भएको रास्वपाले समानुपातिकतर्फ समेत लोकप्रिय मत प्राप्त गरेको हो ।

समानुपातिकमा सर्लाहीको चारवटा निर्वाचन क्षेत्रमा कुल सदर भएको तीन लाख पाँच हजार ९६५ मतमध्ये रास्वपाको पक्षमा एक लाख ८८ हजार ३७० मत खसेको छ । जुन कुल सदर मतको ६२ प्रतिसत हो । बाँकी ३८ प्रतिसत मत नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य रानजीतिक दलहरुलाई बाँडिएको छ ।

सर्लाहीमा समानुपातिकतर्फ दोस्रो धेरै मत नेपाली कांग्रेसले प्राप्त गरेको छ । कांग्रेसले ३५ हजार ६३० मत प्राप्त गरेको छ । समानुपातिकतर्फ सर्लाहीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तेस्रो हुँदै १९ हजार १५८ मत प्राप्त गरेको छ ।

यस्तै चौंथो भएको नेकपा एमालेले १७ हजार २६० मत प्राप्त गरेको छ । सर्लाहीमा समानुपातिकतर्फ कुलमान घिसिङसँग सहकार्य गरेको चुनाव चिन्ह बाँसुरी रहेको राष्ट्रिय परिवर्तन पार्टीले पाँचौं स्थानमा रहँदै नौ हजार ३७ मत प्राप्त गरेको छ ।

बाँसुरी चुनाव चिन्ह रहेको सो पार्टी भन्दा जसपा नेपालले सर्लाहीबाट समानुपातिकमा कम मत पाएको छ । जसपा नेपाललाई यहाँबाट छ हजार १८२ मत मात्र परेको छ ।

त्यस्तै जनमत पार्टीलाई तीन हजार ८२३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई तीन हजार ४७७ र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई एक हजार ७५२ मत परेको छ ।

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अब मतपरिणामसहितको विवरणहरु निर्वाचन आयोगलाई बुझाउने तयारी गरिएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले उज्यालो अभियानसँग बताए ।