लालबन्दी, २५ फागुन – सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा प्रत्येक्षतर्फको नतिजा सार्वजनिक भएसँगै समानुपातिकतर्फको मतगणना कार्य धमाधम जारी छ ।
चार निर्वाचन क्षेत्रमा प्रत्येक्षतर्फ मतगणना सुरु भएको करिव ४८ घण्टाभित्र नतिजा सार्वजनिक गरियो । समानुपातिकतर्फको मतगणना पनि सोही अवधिमै सार्वजनिक गर्ने गरी काम गरिरहेको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।
समानुपातिकतर्फको प्रारम्भिक नतिजा अनुसार जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नै बढी मत परेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ सर्लाहीमा नयाँ अनुहारको आगमन भएको छ ।
क्षेत्र नं. ४ मा डा. अमरेशकुमार सिंहबाहेक अरु तीन जना सांसदको रुपमा नयाँ राजनीतिज्ञको उदय भएको हो । चार निर्वाचन क्षेत्र रहेको सर्लाहीमा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिनस्वीप’ गरेको छ ।
सर्लाहीबाट चुनाव जितेर संसदको यात्रा तय गर्ने दाउमा रहेका मुलुकका शीर्ष नेताहरुले यो पटकको निर्वाचनमा लज्जास्पद हार बेहोर्नु पर्यो ।
क्षेत्र नं. १ बाट रास्वपाका नीतिमा भण्डारी कार्की, २ बाट रास्वपाका रवीन महतो र ३ बाट रास्वपाकै नरेन्द्र साह कलवार नयाँ अनुहारका सांसदको रुपमा उदाएका छन् ।