टंकबहादुर क्षेत्री/उज्यालो अभियान
मलंगवा, २४ फागुन – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष समेत रहेका सर्लाही क्षेत्र नं. २ का उम्मेद्वार राजेन्द्र महतोको जमानत जफत भएको छ । उपप्रधानमन्त्रीसहित ४
पटक मन्त्री भइसकेका राजनीतिका ‘धुरन्धर खेलाडी’ महतोले यो पटक जमानत समेत जोगाउन सकेनन् ।
२०४८ साल यताका हरेक संसदीय निर्वाचनका उम्मेद्वार महतो ३ पटक विजयी भएका थिए भने ४ पटक निकटतम पतिद्वन्द्वी थिए । तर यो पटक महतोले विजयी वा निकटतम प्रतिद्वन्द्वी त परैजाओस्, जमानत नै गुमाउन पुगेका छन् । ६७ वर्षीय महतो राष्ट्रिय स्वतन्त्र पार्टीका ३८ वर्षीय रविन महतोसँग पराजित मात्र हैन, जमानत नै जोगाउन नसक्ने ‘निरिह’ उम्मेद्वारको रुपमा दरिए ।
सर्लाही २ मा ७७ हजार ७८९ मत खसेकामा ७२ हजार ३८१ मत सदर भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत ल्याउनु पर्ने हुन्छ । विजयी रास्वपाका
महतोले ४२ हजार ५१२ मत ल्याउँदा राष्ट्रिय मुक्ति पार्टीका महतोले ५ हजार ९९२ मत मात्र प्राप्त गरे ।
मधेशवादी पहिचानसहित पटक पटक पार्टी परिवर्तन होस् वा आफ्नै नेतृत्वमा दल खोलेर `मधेश मसिहा’को रुपमा राजनैतिक यात्रालाई उचाईमा पुर्याइरहेका महतो २०६४ सालको संविधान सभा निर्वाचन पश्चात निरन्तरजसो सत्ता र शक्तिमा पुग्न सफल भएका थिए । यस निर्वाचनबाट मधेशवादको नारा उराल्ने दलहरुको पत्तासाफ जतिकै भएको छ नै सोही नाराबाट उचाईको श्रृंखला चढेका महतोले जमानत समेत बचाउन नसकेपछि कतै ओरालाे यात्रा तय गरेकी भन्ने राजनीति वृतमा चर्चा चलेको छ ।
महतोको राजनीतिक यात्रा
२०४८ सालमा क्षेत्र नं. २ मा नेपाल सद्भावना पार्टीबाट उम्मेद्वारी दिएका महतो नेपाली कांग्रेसकी मिना पाण्डेसँग पराजित भए । पाण्डेले १० हजार ६८४ मत ल्याउँदा महतोले निकटतम प्रतिद्वन्द्वी हुँदै ७ हजार ८२८ मत प्राप्त गरे ।
२०५१ सालको संसदीय निर्वाचनमा पनि महतोलाई सोही क्षेत्रमा कांग्रेसकी पाण्डेले नै पराजित गरिन् । पाण्डेले १० हजार ७९५ मत ल्याउँदा महतोले मतान्तर घटाउँदै १० हजार १७३ प्राप्त गरे ।
२०५६ सालको निर्वाचनममा भने महतोले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्य बहादुर थापालाई पराजित गर्न सफल भए । १४ हजार ७५० मत सहित
महतो विजयी हुँदा थापाले १३ हजार ३६९ मत प्राप्त गरे भने कांग्रेसकी पाण्डे ८ हजार ९१३ मतसहित तेस्रो बनिन् ।
२०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा क्षेत्र नं. ४ बाट सद्भावना पार्टीको अध्यक्ष समेत रहेका महतोले तराई मधेश लोकतान्त्रिक पार्टीका नेता रामचन्द्र राय यादवलाई पराजित गरे । महतोले १७ हजार ७३ मत ल्याउँदा यादव ८ हजार ७५२ मत सहित निकटतम प्रतिद्वन्द्वी बन्नु पर्यो ।
२०६४ सालको निर्वाचन पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री भए । प्रचण्ड सरकार ढलेपछि बनेको माधव कुमार नेपाल सरकारमा पनि महतोको भागमा पुनः वाणिज्य तथा आपूर्ति मन्त्री हात लाग्यो ।
त्यस्तै २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा भने महतो स्वास्थ्य तथा जनसंख्या मन्त्री बने ।
२०७० सालको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा भने तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग सद्भावना अध्यक्ष महतो पराजित भए । यादवले ११ हजार ५३४ मतसहित विजयी हुँदा महतोलले ८ हजार ७९० मतमै चित्त बुझाउनु पर्यो ।
२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने महतोले धनुषा ३ मा उम्मेद्वारी दिदै विजयी भए । राष्ट्रिय जनता पार्टी नेपालबाट उठेका महतोले ३० हजार ७५० मत ल्याउँदा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले २७ हजार ८४७ प्राप्त गरेका थिए । सर्लाहीमा पराजित हुन सक्ने भयका कारण महतोले उक्त समयमा धनुषाबाट उम्मेद्वारी दिएको निकटवर्तीहरु बताउँछन् ।
२०७८ सालमा केपी शर्मा ओलीको सरकारमा समेत महतोले १७ दिन उपप्रधान एवं सहरी विकास मन्त्री बन्न भ्याए ।
२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा महतोले पुनः लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्लाही क्षेत्र नं. २ मा उम्मेद्वारी दिएका थिए । उक्त निर्वाचनमा नेपाल समाजवादी पार्टीबाट उम्मेद्वारी दिएका उनै महिन्द्र राय यादवसँग महतो पछारिन पुगे । यादवले २३ हजार ५२९ मत प्राप्त गर्दा महतोले २१ हजार ५१८ मा चित्त बुझाउनु पर्यो ।
निर्वाचन २०८२ मा पनि निवर्तमान सांसद् यादवसँगै भिड्न उत्रिएका महतो जमानत समेत जोगाउन नसकेर नराम्रोसँग बजारिन पुगे । ८१ वर्षीय यादवले भने ८ हजार ५२३ मत ल्याउँदै जमानत त जोगाउन भ्याएका छन् । तर दुवैजना ‘हेभिवेट’ लाई पछार्दै ३८ वर्षीय रविन महतोले सांसद पद उछिट्टयाए ।