हरिवन, २४ फागुन – सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवार सानदार मतसहित निर्वाचित भएका छन् ।
साह ४६ हजार ८९० मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । साहले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ३३ हजार ५५२ मतले पराजित गरेका छन् ।
रास्वपाका साह तेस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल भएका हुन् । उनी २०७९ को निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उप्रेतीसँग ७७० मतको झिनो अन्तरले पराजित भएका थिए ।
निवर्तमान प्रतिनिधि सभा सदस्य उप्रेतीले यो पटक चौंथो बन्दै ५ हजार ७७६ मात्र प्राप्त गरेका छन् । अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपाका कलवार २०७९ मा भने नेकपा माओवादी केन्द्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।
उनी यो पटक मनोनयन दर्ताको केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । साहले २०७४ सालमा पनि सर्लाही ३ मा स्वतन्त्रबाट गुलाब चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रँदा १२ हजार बढी मत प्राप्त गरेका थिए ।
विभिन्न व्यवसाय गर्ने नवनिर्वाचित प्रतिनिधि सभा सदस्य साह सर्लाही ३ मा लामो समयदेखि सामाजिक कार्यमा सरिक हुँदै आएका छन् । सर्लाही ३ मा कांग्रेसका पुराना नेतासमेत ररहेका विनोदकुमार खनालले पाँच हजार ७७६ र उज्यालो नेपाल पार्टीका त्रिभुवनकुमार सिंहले दुई हजार ६२२ मत प्राप्त गर्दा अन्य उम्मेदवारले एक हजार मतसमेत पुर्याउन सकेनन् ।
आज बिहान ३ बजेतिर प्रत्येकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य साहलाई प्रमाण–पत्र वितरणको तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्लाहीमा अब क्षेत्र नं. ४ को मात्र अन्तिम मतपरिणाम औपचारिक सार्वजनिक हुन बाँकी छ ।
क्षेत्र नं. ४ मा पनि रास्वपाकै डा. अमरेशकुमार सिंह फराकिलो मतान्तरले बिजयी हुँदै छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पाखा लगाउँदै सिंहले सर्लाही ४ बाट लगातार चौंथो पटक संसदको यात्रा तय गर्न लागेका हुन् ।
सर्लाही १ र २ मा पनि क्रमशः रास्वपाका नीतिमा भण्डारी कार्की र रबिन महतो बिजयी भइसकेका छन् ।