मलंगवा, २१ फागुन – सर्लाहीबाट चुनाव लडेका मुलुककै केही शीर्षस्त नेताहरुले आफूलाई नै मतदान गर्न पाएनन् ।
सर्लाही ४ बाट कांग्रेसको उम्मेदवार रहेका गगनकुमार थापा काठमाडाैं ४ मा मतदान गरेर दिउँसो मात्र सर्लाही आइपुगे । हेलिकप्टरबाट सर्लाही आएपछि उनले क्षेत्र नं. ४ का मतदान केन्द्रहरुको निरीक्षण गरेका छन् ।
गोरखाको मतदाता रहेका सर्लाही ३ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायण काजी श्रेष्ठले पनि आफूलाई मतदान गर्न पाएन ।
सर्लाही २ बाट उम्मेदवार रहेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि आफूलाई मतदान गर्न पाएनन् । उनले क्षेत्र नं. १ स्थित चन्द्रनगर गाउँपालिका २ बबरगन्जमा रहेको दुर्गा खोभारी माविबाट मतदान गरेका छन् ।
सर्लाहीमा नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री महेन्द्र राय यादव, पूर्व मन्त्री हरिप्रसाद उप्रेती, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठलगायत अन्य उम्मेदवारले भने आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन् ।