logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा निर्वाचनको तयारी पुरा, मतदाताको प्रतिक्षामा कर्मचारी


  • उज्यालो अभियान

लालबन्दी ७ स्थित जानकी मावि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, २० फागुन – सर्लाहीमा भोली (बिहीबार) हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ ।

बुधबार साँझ उज्यालो अभियानसँग कुरा गर्दै सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लाभर निर्वाचनको तयारी पुरा भएको जानकारी दिए । “जिल्लाभरका ६१२ वटै मतदान केन्द्रमा बुथ बनाउनेसहित बिहीबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको छ,” मुख्य निर्वाचन अधिकृत थपलियाले भने, “हामी अब मतदाताको प्रतिक्षामा छौँ ।”

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल र ६२८ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन गराउन जिल्लाभर तीन हजार ७०० कर्मचारी परिचालन भएका छन् ।
निर्वाचनका लागि जिल्लाभरको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत र शान्तिपूर्णरुपमा सम्पन्न गर्न जिल्लाभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था चुस्त पारिएको बताए ।

निर्वाचनलाई लक्षित गरी प्रत्येक पालिकामा सादा पोसाकमा समेत व्यापक सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बुधबार दिउँसो मतपत्रसमेत पुगेसँगै प्रत्येक मतदान केन्द्रको सुरक्षा व्यवस्थासमेत कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शान्ति, सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन प्रमुख जिल्ला अधिकारी कडरियाले अनुरोध गरेका छन् । “सबै मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त पारेका छौँ,” सिडिओ कडरियाले बुधबार साँझ उज्यालो अभियानसँग भने, “हामी आम मतदातालाई कुनै डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गछौँ ।”

प्रतिनिधि सभा सदस्य चयन गर्न भोली बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । मतदान सकिएपछि मतगणना गर्न सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा मतगणना स्थलसमेत तयार पारिसकिएको छ ।

चारवटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा १३१ जना प्रतिस्पर्धामा हुनुहुन्छ । जिल्लाभर दुई लाख ७८ हजार ८३७ जना पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र अन्य ११ जनासहित पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् ।

नेपाली सेना, प्रहरी, कर्मचारी र कैदीबन्दीका लागि जिल्लाभर चारवटा अस्थायी मतदान केन्द्रसमेत तोकिएको छ । ३४ जना कैदीबन्दीसहित कर्मचारी, सेना र प्रहरी गरेर छ हजार ८७ जनाले समानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनायो ।