क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापा मतगणना स्थल देखाउँदै । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, २० फागुन – भोली हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि सर्लाहीमा आज दिउँसोसम्ममा मतदान केन्द्र निर्माणको काम सकिने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हिजो नै जिल्लाको सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन् । जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जिल्लाको ६२८ वटै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको बताए ।
मतदान केन्द्रमा पुगेका मतदान अधिकृतसहितका कर्मचारीले हिजो सर्वदलीय बैठक राख्ने, आवश्यक सूचना टाँस गर्नेलगायतका काम गरेका थिए । सर्वपक्षीय बैठक सम्पन्न गरेसँगै अधिकांश मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएर बाँस गाड्ने, डोरी टाङ्नेलगायत मतदान केन्द्र अर्थात् बुथ तयार पार्ने काम गरिरहेका हुन् ।
मतदान केन्द्रमा पुगेका मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्र निर्माणमा जुटिरहँदा चारवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थल तयार पार्ने काम भइरहेको छ । क्षेत्र नं. १ मा लालबन्दी नगरपालिका १० नं. वडा कार्यालय, क्षेत्र नं. २ मा जिल्ला समन्वय समितिको पुरानो भवन, क्षेत्र नं. ३ मा नापी कार्यालय हरिवन र क्षेत्र नं. ४ मा बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना हुने छ ।
मतगणनास्थलमा तारजाली हाल्ने, सिसी क्यामेरा जडान गर्ने र शिलबन्दी गरिएको मतपेटिका राख्ने कक्ष बनाइसकिएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए ।
भोलीको चुनावलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था पनि कडा पारिँदै लगिएको छ । सीमा नाकाबाट आवतजावत रोक्न सोमबार राति १२ बजेदेखि नै नाका सिल गरिसकिएको छ ।