logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मतदान केन्द्रतर्फ प्रस्थान गरे कर्मचारी र सुरक्षाकर्मी (तस्बीरहरु)


  • उज्यालो अभियान

मलंगवा, १९ फागुन – पर्सी २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा मतदान अधिकृतहरु मतदान केन्द्रमा पुग्नेक्रम हिजोदेखि जारी रहेको छ ।

हिजो नै अधिकांश मतदान अधिकृतहरु मतदान सामग्रीसहित आ–आफूलाई खटाइएको मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट नजिकै रहेका मतदान केन्द्रमा खटाइएका केही मतदान अधिकृतहरु भने आज मध्यान्हसम्ममा आफूलाई खटाइएको ठाउँमा पुगिसक्ने निर्वाचन अधिकृतको कार्यालयहरुले जनाए ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार जिल्लामा ६२८ मतदान केन्द्रमध्ये अधिकांश मतदान अधिकृतले मतपेटिकासहितका निर्वाचन सामग्री बुझेर लगिसकेका छन् । मतदान अधिकृतले मतदान केन्द्रमा पुगेर निषेधित क्षेत्र तोकिएको, मदिरा निषेध गरिएको लगायतका सूचनासमेत टाँस गरिसकेका पौडेलले उज्यालो अभियानसँग बताए ।

क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार क्षेत्र नं. १ का अधिकांश मतदान केन्द्रमा हिजो नै पुगेका मतदान अधिकृतले सूचना टाँस गर्ने र सर्वपक्षीय बैठक राख्ने काम धमाधम गरिरहेका जानकारी दिए । केही ठाउँमा अहिले बिहान सर्वपक्षीय बैठक राख्न दल तथा उम्मेदवारका प्रतिनिधिलाई बोलाइएको छ ।

मतदान केन्द्रहरुमा अब मतपत्र मात्र पुग्न बाँकी छ । मतपत्रबाहेक अन्य निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीले अब आजदेखि मतदानस्थलसमेत बनाउन सुरु गर्ने छन् ।

सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले मतदान केन्द्रमा पुगेका मतदान अधिकृतलाई सुरक्षाकर्मीसँग समन्वय गरी आफूले लिएर गएको निर्वाचन सामग्री सुरक्षित राख्न र मतदानअघि अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियागत काम क्रमवद्ध रुपमा सम्पन्न गर्न निर्देशन दिइएको बताए ।

 

मतदान केन्द्रमा खटाइएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीसमेत मतदान अधिकृतसहित आ–आफूलाई खटाइएको मतदान केन्द्रमा पुगिरहेका छन् ।

(तस्बीर : जनार्जन/रोशन)