logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बहुजन पार्टीका उम्मेदवार पासवानसहित अन्य नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश


  • उज्यालो अभियान

लालबन्दी, १८ फागुन – सर्लाही क्षेत्र नं. १ मा बहुजन एकता पार्टी नेपालका उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सर्लाही क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानसहित अन्य दलित अगुवा तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पासवानसहितका नेता, कार्यकर्तालाई नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगनकुमार थापाले पार्टीमा प्रवेश गराएका छन् ।

सभापति थापाले पासवानसहितलाई आज दिउँसो सर्लाहीको क्षेत्र नं. ४ स्थित धनकौल गाउँपालिकाको महिनाथपुरमा एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । दलित समुदायका अगुवासमेत रहेका पासवान नेपाली कांग्रेसमा प्रवेश गरेपछि चारवटै निर्वाचन क्षेत्रमा आफूहरुको उम्मेदवार थप बलियो भएका कांग्रेस नेताहरुले दावी गरेका छन् ।

कांग्रेस प्रवेश गरेका पासवान २०७९ को निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार रहेका थिए । त्यसबेला पासवानले पाँच हजार १५८ मत प्राप्त गरेका थिए ।

पासवान कांग्रेसमा प्रवेश गरेसँगै सर्लाही १ मा आधिकारिक रुपमा २८ जना उम्मेदवारको उम्मेदवारी कायम भए पनि अब २७ जना मात्र प्रतिस्पर्धामा रहने भएका छन् ।

सर्लाही १ मा नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, नेकपा एमालेबाट मनोजकुमार देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमोदकुमार साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नीतिमा भण्डारी कार्की, जनता समाजवादी पार्टीबाट रामप्रकाश चौधरीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।