मलंगवामा रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
अनिता देवकोटा/लालबन्दी, १८ फागुन – दुई दिनपछि यही फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा मतदान अधिकृतहरुलाई आजबाट निर्वाचन सामग्री बुझाउन सुरु गरिने भएको छ ।
चारवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री बुझ्न आउन सूचना जारी गरेका छन् । मतदान अधिकृतलाई आज दिउँसो वा भोली बिहानसम्म मतदान केन्द्रमा पुगिसक्न भनिएको छ ।
सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतहरु आफूसँगै खटाइएका कर्मचारी र सुरक्षाकर्मीसँग समन्वय गरी मतदान केन्द्रमा पुग्नुपर्ने उज्यालो अभियानसाग बताए । मतदान केन्द्रसम्म पठाउन चारवटै निर्वाचन क्षेत्रमा मतपत्र रुजु गरी प्याकिङ गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ ।
मतपेटिकासहितका अन्य निर्वाचन सामग्रीहरु सदरमुकाम मलंगवास्थित जिल्ला निर्वाचन कार्यालयले चारवटै क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम धमाधम गरिरहेको छ । निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुग्ने मतदान अधिकृतले सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्र निर्माण गर्ने, आवश्यक सूचनाहरु टाँस गर्नेलगायतका काम गर्ने छन् ।
निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार क्षेत्र नं. १ मा तारजालीसहित मतगणनास्थल बनाउने र सिसी क्यामेरा जडान गर्ने कामसमेत सम्पन्न भइसकेको छ । प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र दुई जना स्वंसेवक परिचालन हुने छन् ।
दुई दिनपछिको चुनावका लागि सर्लाहीमा दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य गरी पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् ।
चुनावका लागि र होली पर्वलाई लक्षित गरी अहिले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।