हरिवन, ०९ फागुन – मुलुकका शीर्षस्त नेताहरु आएर चुनावी मैदानमा होमिएको सर्लाहीमा यो पटक प्रत्येक निर्वाचन क्षेत्रको मतपरिणामबारे निकै चासो व्यक्त भइरहेको छ ।
सर्लाही ३ मा गोरखा छाडेर आएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका नेताहरु फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा छन् । यहाँ श्रेष्ठसँग पूर्व रक्षामन्त्री एवं नेकपा एमालेको तर्फबाट निवर्तमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका पुराना नेता विनोदकुमार खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवारलगायत ३४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ३ बाट एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मतसहित निर्वाचित भएका थिए । त्यसबेला तत्कालिन नेकपा माओवादी केन्द्रमा रहेका (हाल रास्वपाका उम्मेदवार) नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत प्राप्त गरेका थिए ।
तीन वर्षअघि माओवादीबाट चुनाव लड्दा ७७० मतले पराजित भएका कलवार यो पटक रास्वपाबाट टिकट लिएर प्रधिस्पर्धामा छन् । त्यसअघि २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ३ बाट तत्कालिन माओवादी केन्द्रका रामेश्व राय यादव २२ हजार ३६७ मत प्राप्त गरी बिजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरेशप्रसाद महतोले १४ हजार ९२९ मत प्राप्त गरेका थिए ।
अहिले रास्वपाबाट उम्मेदवार रहेका नरेन्द्र साह कलवारले २०७४ मा सर्लाही ३ बाट स्वतन्त्र उम्मेदवारी दिँदा पनि १२ हजार ८६ मत प्राप्त गरेका थिए । २०७४ मा यस क्षेत्रबाट निर्वाचित रामेश्वर राय यादव भने यो पटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले टिकट नै नदिएपछि पार्टी परित्याग गरेका छन् ।
पार्टीले नेता नारायणकाजी श्रेष्ठलाई टिकट दिएर सर्लाही ल्याएपछि यादव भने जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेर सर्लाही ४ मा गएर नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहलगायतसँग प्रतिस्पर्धामा उत्रिएका छन् । पहाडे र मधेशी समुदायको मिश्रित बसोवास रहेको सर्लाही ३ मा यो पटक नेकपा, कांग्रेस, रास्वपा र एमालेबिच चारपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ ।
गोरखा छाडेर सर्लाही आएका नेपाली कम्युनिष्ट पार्टीका नेता श्रेष्ठले आफू लामो समयदेखि यहाँका मिटरब्याज पीडित, उखु किसानलगायतको पक्षमा लागेकाले आफूलाई मतदाताले पत्याउने बताए । उनले भने–“म गृहमन्त्री हुँदा मिटरब्याजी साहु (सुदखोर) को विरुद्धमा र पीडितको पक्षमा कडा रुपमा लागेकाले यहाँका नागरिकले मलाई आफ्नो प्रतिनिधि हुन बोलाएकाले गोरखा छाडेर सर्लाही आएको हुँ ।”
अघिल्लो पटक झिनो मतान्तरले पराजित भएका रास्वपाका उम्मेदवार कलवारले पनि सर्लाही ३ मा आफूले प्रतिनिधि नहुँदा नै समाजसेवाको काम गरेकाले मतदाताले पत्याउने बताए । यसअघि थोरै मतले पराजित भए पनि यो पटक देश नै रास्वपामय भएको दावी गदै कलवारले आफू निर्वाचित हुनेमा विश्वास्त रहेको बताए ।
निवर्तमान प्रतिनिधि सभा सदस्य एवं एमालेका उम्मेदवार उप्रेतीले मतदाताले बाहिरी र धनीलाई भन्दा पनि दुःखमा सेवा गर्ने प्रतिनिधि छान्ने विश्वास व्यक्त गरेका छन् । आफूले तीन वर्षसम्म प्रतिनिधि हुँदा सर्लाही ३ को विकासका लागि गरेको पहल र भएका विकास नै पुनः निर्वाचित गराउन पर्याप्त रहेको उप्रेतीको तर्क छ ।
नेपाली कांग्रेसका उम्मेदवार खनालले आफू कुनै पदमा नहुँदा पनि वर्षौसम्म सर्लाही ३ मा पुल निर्माण, विद्युतीकरण, सिँचाईलगायत क्षेत्रमा गरेको काम देखेर मतदाताले पत्याउने बताए । “तीन दशक राजनीतिक यात्रामामा म कुनै पनि पदमा नरहँदा र प्रतिनिधि नहुँदा पनि पुल, बाटोघाटो, बिजुली र सिँचाईका लागि पहल गरेको छु,” खनालले भने, “मेरो मेहनत र मैले राजनीति जीवनमा गरेको सेवा देखेर मलाई यो पटक निर्वाचित गराउनु हुन्छ भन्नेमा विश्वस्त छु ।”
बागमती नगरपालिका पुरै (१–१२), हरिवन नगरपालिका पुरै (१¬–११), चक्रघट्टा गाउँपालिका पुरै (१–९), बरहथवा नगरपालिका ५, ६, ७, ८, ९, १०, ११, १२, १६, १७ र १८, हरिपुर नगरपालिका १, कविलासी नगरपालिका ३, ४, ५ र ६ तथा बसबरिया गाउँपालिका ४, ५ र ६ गरी कूल ५१ वटा वडा रहेको सर्लाही ३ मा एक लाख ३४ हजार ४१२ मतदाता कायम भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा सर्लाही ३ का यि ५१ वडामध्ये सबैभन्दा धेरै तत्कालिन नेकपा माओवादी केन्द्रले १४, नेपाली कांग्रेसले १३, नेकपा एमालेले ११, जनता समाजवादी पार्टी (जसपा) नेपालले १०, तत्कालिन नेपाली कम्युनिष्ट पार्टीले दुई र बहुजन एकता पार्टी नेपालले एउटा वडामा चुनाव जितेका थिए ।
२०७९ को निर्वाचनमा सर्लाही ३ मा तत्कालिन माओवादी केन्द्रका १४ जना वडाध्यक्षले १२ हजार १२५, नेपाली कांग्रेसका १३ जना वडाध्यक्षले नौ हजार ६४२, एमालेका ११ जना वडाध्यक्षले सात हजार ४१२, जसपा नेपालका ११ जना वडाध्यक्षले सात हजार ६२७, नेकपा एकीकृत समाजवादीका दुई जना वडाध्यक्ष एक हजार २७५ र बहुजन एकता पार्टी नेपालका एक जना वडाधयक्षले ६०६ मत प्राप्त गरेका थिए ।