मलंगवा, ०४ फागुन – सर्लाही सदरमुकाम मलंगवामा हिजो आइतबार बेलुका गोली प्रहार गरी हत्या गरिएका इन्जिनियर प्रमोदकुमार यादव हिजो नै घरबाट फर्किएको पाइएको छ ।
जिल्ला पूर्वाधार कार्यालय मलंगवामा कार्यरत इन्जिनियर ३६ वर्षीय यादवलाई आइतबार बेलुका ८ बजेतिर मलंगवा नगरपालिका १० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । मृतक इन्जिनियर यादवको घर भने सिराहाको सुखीपुर नगरपालिका ९ बैशााखा हो ।
प्रहरीका अनुसार इन्जिनियर यादव आइतबार दिउँसो मात्र भर्खरै निधन भएका बाबुको काजकिरिया सकेर मलंगवा फर्किएको पाइएको हो । “उहाँको बुवा बितेपछि काम सकेर आइतबार दिउँसो दुई/तीन बजेतिर मात्र मलङ्गवा आएको भन्ने बुझिएको छ,” सर्लाही प्रहरीका प्रमुख योगेन्द्रकुमार खड्काले अहिले बिहान उज्यालो अभियानसँग भने, “घरबाट फर्किए लगत्तै घटना भएको देखिन्छ । यसबारेमा थप बुझ्ने काम हुँदै छ ।
”
स्थानीयका अनुसार मोटरसाइकल चढेर आएका दुई जना मानिसले इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर नजिकैबाट गोली प्रहार गरेका हुन् । यादवको छातीमा गोली प्रहार भएको छ ।
घटनास्थलबाट गोलीको एक थान खोका बराबद भएको एसपी खड्काले बताए । सानो हतियार (पेस्तोल) बाट गोली प्रहार भएको जस्तो देखिने एसपी खड्काले जानकारी दिए ।
गोली प्रहारपछि कोठा गरेर बसेको घरको बरण्डामा ढलेका इन्जिनियर यादवलाई एसपी खड्कासहितको प्रहरी टोली पुगेर प्रादेशिक अस्पताल मलंगवा लगेको थियो । उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमै रहेको छ ।
इन्जिनियर यादवमाथि गोली प्रहार हुनुको कारण खुल्न सकेको छैन् । “उहाँमाथि कार्यालयकै कुनै विषय वा पारिवारिक के कारणले गोली प्रहार हो भन्ने खुल्न सकेको छैन्,” एसपी खड्काले भने “अब आज (सोमबार) उहाँको श्रीमती र परिवारसँग कुराकानी गरेपछि थप विषय खुल्दै जाला ।”
इन्जिनियर यादव श्रीमती र दुई वर्षकी छोरीसँगै मलंगवामा कार्यालय नजिकै डेरा गरेर बस्दै आएका थिए । आइतबार बेलुका इन्जिनियर यादवमाथि गोली प्रहार हुनासाथ मलंगवा क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी रातभरजसो अभियुक्तको खोजी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले उज्यालो अभियानसँग बताएका छन् । तर अहिले बिहानसम्म घटनामा संलग्न कोही व्यक्ति पक्राउ परेका भने छैनन् ।
मलंगवाबाट नेपाल–भारत सीमा (बोर्डर) नजिकै पर्ने भएकाले गोली प्रहारमा संलग्न व्यक्ति भारततर्फ फरार भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले अब आज (सोमबार) घटनास्थल वरपरको सिसिटिभी फुटेज सङ्कलन गरेर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
सिराहाको सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवका अनुसार इन्जिनियर प्रमोदकुमारका बुवाको तीन दिनअघि भव्य रुपमा काजकिरिया भएको थियो । रामऔतारका दुई दाजुभाई छन् ।
गाउँका सबै पक्ष र जातजातिलाई भव्य रुपमा भोज खुवाएपछि इन्जिनियर प्रमोदकुमार हिजो घरबाट मलंगवा फर्किएको मेयर यादवको भनाइ छ । “मैले पनि आज बिहान मात्र घटनाबारे थाहा पाए, मेयर यादवले टेलिफोनमा अहिले बिहान उज्यालो अभियानसँग कुरा गर्दै भने “यहाँ उहाँहरुको परिवार अत्यन्त सम्पन्न र असल परिवारको रुपमा पर्छ तर एक्कासी यस्तो घटना हुन पुग्यो ।”
मेयर यादवले इन्जिनियर प्रमोदको कोही कसैसँग विवाद भएको आफूले थाहा नपाएको हामीसँग बताएका छन् ।