logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कार्यसम्पादनमा सर्लाहीका १० पालिकाले ५० अंक कटाएनन्,बरहथवा पहिलो


  • उज्यालो अभियान

लालबन्दी, ०३ फागुन – पालिकाको कार्यसम्पादनमा सर्लाहीका १० वटा स्थानीय तहले ५० अङ्क पनि कटाउन सकेनन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार सर्लाहीका १० पालिकाले मात्र ५० अङ्क ल्याउन सफल भएका छन् । १० वटा पालिकाले भने ५० भन्दा पनि कम अङ्क ल्याएका हुन् ।

जिल्लामा चन्द्रनगर गाउँपालिकाले सबैभन्दा कम ३५.१६ अङ्क प्राप्त गरेको छ । अन्य नौ स्थानीय तहले भने ४० अङ्क कटाएका छन् । रामनगर गाउँपालिकाले ४०.५३, कविलासी नगरपालिकाले ४२.३६, हरिपुर्वा नगरपालिकाले ४२.८०, गोडैता नगरपालिकाले ४३.९६, ब्रम्हपुरी गाउँपालिकाले ४४.५१, बसबरिया गाउँपालिकाले ४५.६१, पर्सा गाउँपालिकाले ४६.०८, ईश्वरपुर नगरपालिकाले ४६.८३ र मलङ्गवा नगरपालिकाले ४९.२५ अङ्क प्राप्त गरेका छन् ।

जिल्लामा ५० अङ्क कटाएका पालिकामध्ये बलरा नगरपालिकाले ५०.२७, चक्रघट्टा गाउँपालिकाले ५१.८१, धनकौल गाउँपालिकाले ५३.३७, विष्णु गाउँपालिकाले ५४.३५, लालबन्दी नगरपालिकाले ५७.२३, बागमती नगरपालिकाले ५८.२१ र कौडेना गाउँपालिकाले ५९.२० अङ्क प्राप्त गरेका छन् ।

जिल्लाको २० पालिकामध्ये कार्यसम्पादन मुल्याङ्कलनमा बरहथवा नगरपालिका ६४.३९ अङ्क प्राप्त गरी पहिलो भएको छ । ६२.०२ अङ्क प्राप्त गरी हरिवन नगरपालिका दोस्रो र ६१.१९ अङ्क प्राप्त गरी हरिपुर नगरपालिका तेस्रो भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बजेट तर्जुमा र कार्यान्वयन, राजस्व परिचालन, लेखापरीक्षण, शिक्षा, स्वास्थ्य र सुशासनलगायतका १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो ।