अचलगढ, ०२ फागुन – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आम नागरिक मुलुकमा जताततै ब्याप्त भ्रष्टाचारबाट आजित भएको पाइएको बताएका छन् ।
सर्लाहीको बलरा नगरपालिका-९, अचलगढमा आज शनिबार नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै थापाले अहिले आफू मतदाताको घरदैलोमा मत माग्न पुग्दै गर्दा सर्वसाधारण भ्रष्टाचारबाट आजित भइ सुशासनको पक्षमा रहेको पाएको बताएका हुन् । सर्लाही ४ बाट फागुन २१ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेतरहेका थापाले जताततै भ्रष्टाचार, खेती गर्न मलखाद नपाउने, फलाएको अन्नले मुल्य नपाउने, चिनी मिलमा उखु लैजान चलान नपाउने, रोजगारी नपाएर बिदेश नै जानुपर्ने जस्ता समस्याले नागरिक वाक्कदिक्क भएको पाएको सुनाए ।
उनले मधेश केन्द्रीत दलले अहिलेसम्म यहाँका नागरिकलाई भोट बैंक मात्र बनाएका तर विकास नगरेका आरोप लगाए । कांग्रेस सभापति थापाले मधेशवादी दलप्रति लक्षित गर्दै सानातिना दोकान अब बन्द हुने भन्दै कांग्रेस होलसेल पसलको रुपमा खुला रहेको र कांग्रेसकै पसलमा आउन आग्रह गरे ।
थापाले अहिले कांग्रेसको बहुमत आउने अवस्था सिर्जना भएको भन्दै अबको ५ वर्ष देशको जिम्मेवारी कांग्रेसले लिने दावी गरे । ‘अब त नयाँ पार्टीलाई भोट दिन्छौँ’ भन्नेहरुलाई थापाले दोस्रो विशेष महाधिवेशनबाट नेपाली कांग्रेस नै सबैभन्दा नयाँ पार्टी बनेर आएकाले यो पटक मतदान गरिदिन अपिलसमेत गरे ।
कार्यक्रममा संविधान सभा सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरी, जसपा नेपालकै मनिषकुमार मिश्र, जसपा नेपालकी नेतृ विणा सिन्हा, लोसपाबाट विष्णु गाउँपालिकामा अध्यक्षका प्रत्यासी अरविन्द कुमार सिंह, लोेसपाका क्षेत्रीय उपाध्यक्ष वीरेन्द्र प्रसाद यादव, ४ ख का अध्यक्ष नवल कुमार सिंह, बहुजन समाजवादी पार्टीबाट गोडैता नगरपालिकाको प्रमुखका प्रत्यासी श्याम गुप्ता लगायत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेशीलाई पार्टी सभापति थापा, कांग्रेस सर्लाहीका पूर्व सभापति सुरेन्द्रप्रसाद सिंह, मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंह, क्षेत्रीय सभापति रामआश्रय साहलगायतले माला र अविर लगाएर पार्टीमा स्वागत गरेका छन् ।