नवलपुर, २१ माघ – सर्लाहीको लालबन्दी १ नवलपुरमा जारी दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगितामा मोफसलको चर्चित क्लब वीरगन्ज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा धनुषा ११ धनुषामाथि एक-शुन्यको कठीन जित दर्ता गर्दै वीरगन्ज युनाइटेड अन्तिम ४ मा प्रवेश गरेको हो । वीरगन्जलाई जित दिलाउन खेलको ६७ औँ मिनेटमा सुरुज गौरुले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा अब भोली आयोजक जीवेश्वर यूवा क्लब नवलपुर र गाईघाट यूवा क्लब उदयपुरबिच प्रतिस्पर्धा हुने छ ।
यसअघि मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा भरतपुर फुटबल क्लब चितवनलाई पराजित गर्दै न्यू त्रियुगा स्पोर्टस् क्लब सप्तरी सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
जीवेश्वर यूवा क्लब नवलपुरले नवनिर्मित नवलपुर रंगशालामा लालबन्दी नगरपालिकाको मुख्य प्रायोजनमा फुटबल प्रतियोगिता गराइरहेको हो ।
बिजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने छ ।