लालबन्दी, १९ माघ – फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब एक महिना बाँकी रहँदा सर्लाहीमा राजनीतिक दलले सम्पर्क कार्यालय खोल्ने र चुनाव परिचालन समिति बनाउने कामलाई तीव्रता दिएका छन् ।

स्वतन्त्र उम्मेदवार तथा राजनीतिक दलका उम्मेदवारले मुख्य बजार क्षेत्रहरुमा धमाधम सम्पर्क कार्यालय सञ्चालन गर्न थालेका हुन् । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले कोठा भाडामा लिएर आफ्नो सम्पर्क कार्यालय खोलेका छन् ।
उक्त सम्पर्क कार्यालयमा कार्यकर्ता जुटेर चुनावी प्रचारप्रसार, अन्य गतिविधि र घरदैलो कार्यक्रम सुरु गर्ने योजना रहेको उम्मेदवारहरुको भनाइ छ । यस्तै अहिले प्रत्येक राजनीतिक दलले चुनाव परिचालन, युवा दस्ता र प्रचारप्रसारलगायतको समितिसमेत गठन गरेर चुनावी गतिविधि अघि बढाएका छन् ।

फागुन २१ को निर्वाचनलाई लक्षित गरी सर्लाहीमा क्षेत्र नं. १ को लालबन्दी, २ को मलङ्गवा, ३ को हरिवन र ४ को गोडैतामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा रहेका छन् । मुख्य बजार क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालय नजिक पर्ने गरी उम्मेदवारहरुको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
कतिपय उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालिका नै पिच्छे सम्पर्क कार्यालय स्थापना गरेका छन् । नेपाली कांग्रेस सर्लाहीका सभापति डा. सरोज कुमारले फागुन २१ को निर्वाचनमा प्रायः सबै अगुवा नेतालाई जिम्मेवारी दिएर परिचालन गरिएको बताए ।

सर्लाही २ बाट कांग्रेसको उम्मेदवारसमेत रहेका उनले सम्पर्क कार्यालय स्थापना र परिचालन समिति गठन सँगसँगै टोल, बस्तीमा अगुवा नेता, कार्यकर्ता भेला पारेर चुनावमा के–कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले पनि वडा, पालिका तथा क्षेत्रीयस्तरमा भेला, बैठकहरु राखेर निर्वाचन लक्षित विभिन्न समितिहरु गठन गरिरहेको उज्यालो अभियानसँग बताए ।

प्रमुख राजनीतिक दलका जिल्लास्थित प्रमुख नेताहरु चारवटै निर्वाचन क्षेत्रमा परिचालन भइरहेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका नेता अच्यूतम काफ्लेले जिल्ला तहका नेताहरु चारवटै निर्वाचन क्षेत्र र क्षेत्रीय तहका नेताहरु आ–आफ्नो क्षेत्रमा उम्मेदवारसहित चुनावी बैठक र छलफलमा केन्द्रीत भएको बताए ।

जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, उज्यालो पार्टी नेपाल, जनमत पार्टीलगायत अन्य राजनीतिक दलले पनि प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यकर्तामाझ पुगेर भेला, बैठक आयोजना गरिरहेका छन् । फागुन २१ को निर्वाचनका लागि सर्लाहीमा उम्मेदवारी दिएका १३१ जनामध्ये राजनीतिक दलबाट उम्मेदवारी दिने ६१ जना र स्वतन्त्र उम्मेदवारी दिने ७० जना रहेका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिने ७० जनामध्ये अधिकांश राजनीतिक दलका उम्मेदवारले सवारीको सुविधा लिन खडा गरेको डमी उम्मेदवारहरु रहेका छन् । अहिले राजनीतिक दलका तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका सबैलाई चुनाव केन्द्रित गतिविधिको चटारो परेको हो ।
