logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

श्रीनगरमा जंगली हात्तीले ४ वटा घर भत्कायो


  • उज्यालो अभियान

टर्च बालेर हेर्दा श्रीनगर क्षेत्रमा देखा परेका चारवटा जंगली हात्ती ।

श्रीनगर, १६ माघ – जङ्गली हात्तीको समूहले सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा चारवटा घर भत्काइदिएको छ ।

श्रीनगरस्थित घाटटोल र धर्मशाला टोलमा सागरनाथ वन विकास परियोजनाको जङ्गल नजिक रहेका घरहरुमा जङ्गली हात्तीको समूह आएर क्षति पुर्‍याएको हो । ईश्वरपुर नगरपालिका १३ का वडाध्यक्ष तिलबहादुर तामाङ (तिलक) का अनुसार हात्तीले गुलाम माझी मुसहर, देवान सिङ्गर (तामाङ), नथुनी राम र शिवलाल महतोको कच्ची घरका बेराघेरा भत्काएर क्षति पुर्‍याएको छ ।

जंगली हात्तीले भत्काएको घरको बेरा देखाउँँदै गरेकी महिला ।

गएराति ९ बजे र आज बिहान ४ बजेतिर दुई पटक हात्ती आएर क्षति गरेको वडाध्यक्ष तामाङले उज्यालो अभियानसँग बताए । स्थानीयका अनुसार चारवटा हात्ती देखा परेका छन् । हात्तीको समूहले दिनेश महतो कोइरीको सात कठ्ठाको गहुँसमेत खाएर नष्ट पारेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

हात्ती आएर घर तथा बालीनालीमा क्षति पुर्‍याउन सुरु गरेपछि स्थानीय त्रसित बनेका छन् । सर्लाहीमा श्रीनगर, सागरनाथ, जानकीनगर, मूर्तिया, घुर्कौलीलगायत क्षेत्रमा वर्षेनि जङ्गली हात्तीको समूह आएर धनजनको क्षति गर्दैै आइरहेको छ । डिभिजन वन कार्यालय सर्लाहीले यस क्षेत्र भएर जङ्गली हात्ती पूर्वपश्चिम ओहोरदोहार गर्ने पुरानो रुट नै रहेको जनाएको छ ।

यि हात्ती केही दिनमा आफ्नो बसोवास रहेको निकुञ्जतर्फ फर्किएर जाने भएकाले जथाभावी जिस्काउने काम नगर्न डिभिजन कार्यालय सर्लाहीले जनाएको छ ।

अहिले काउली, बन्दा, मकै, गहुँलगायतका बाली खेतभरी रहेकै समयमा जङ्गली हात्ती आएपछि किसान भने चिन्तित बनेका छन् ।