logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पार्टीपछि अब देश बदल्ने जिम्मेवारी आएको छ : सभापति थापा


  • उज्यालो अभियान

बरहथवा, १५ माघ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले अब देश बदल्ने समय आएको बताएका छन् ।

सर्लाहीको बरहथवा बजारमा आज व्यापारीहरुको भेलालाई सम्वोधन गर्दै थापाले फागुन २१ को निर्वाचनपछि पाँच वर्षसम्म नेतृत्व लिएर कांग्रेसले देश बदल्ने बताएका हुन् । भर्खरै सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका थापाले अब कांग्रेसभित्र काठमाडौंमा बसेर नेता चयन गरी टिकट वितरण गर्ने परिपाटीको अन्त्य भएको दावी गरेका छन् ।

वडाध्यक्ष, पालिका प्रमुख, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मेवारी अब स्थानीयस्तरमै प्रदान गर्ने सभापति थापाले बताए । कांग्रेस सभापति थापाले आजित भएर थाकेका नागरिकलाई भरोसा दिने समय आएको उल्लेख गरेका छन् ।

अहिलेको अवस्थामा नागरिक र देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसमाथि आएकोसमेत सभापति थापाले बताए । उत्तेजना र ध्वङ्सको राजनीतिले देशलाई कहिँ पुर्याउँदो रहेनछ भन्ने कुरा राम्रोसँग बुझेको कांग्रेस सभापति थापाको भनाइ छ ।

उनले पछिल्लो १० वर्षको अनुभवले निर्वाचन प्रणालीमा परिवर्तन र सरकारको आकारलाई घटाउन जरुरी रहेको बताए । कांग्रेस सभापति थापाले प्रदेश सरकारको औचित्य धेरै भए पनि प्रदेशलाई प्रदेश जस्तो बनाउन जरुरी रहेको उल्लेख गरेका छन् ।

अहिलेकै अवस्थामा प्रदेश सञ्चालन गरेर कहिँ पनि पुग्न नसकिने उनको भनाइ छ । सर्लाही ४ का उम्मेदवारसमेत रहेका कांग्रेस सभापति थापाले आज बिहीबार मिर्जापुर, बरहथवा, हजरिया, सुन्दरपुर चोहर्वा, बसबरियालगायतका स्थानमा कार्यकर्तालाई सम्वोधन गरेका छन् ।

सर्लाही ४ मा चुनावी कार्यक्रमलाई तत्काल स्थगित गरेर थापा भोलीबाट देशका अन्य निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सरिक हुने भएका छन् ।