नवलपुर, १५ माघ – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा नवनिर्मित फुटबल रङ्गशालाको आज उद्घाटन गरिएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा फुटबल रङ्गशालाको उद्घाटन गरिएको हो । जीवेश्वर यूवा क्लबले मधेश प्रदेश सरकार, लालबन्दी नगरपालिका, वडा कार्यालय र विभिन्न दाताहरुको सहयोगमा आकर्षक फुटबल रङ्गशाला तयार पारेको हो ।

क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले मधेश प्रदेशकै नमूनाको रुपमा प्यारापिटसहितको रङ्गशाला तयार पारिएको जानकारी दिए । बुढाथोकीका अनुसार ५०० दर्शक क्षमताको प्यारापिट, ड्रेसिङ रुम, प्लेयर बक्स, शौचालय, बाथरुमसहितको सुविधायुक्त आकर्षक रङ्गशाला तयार पारिएको हो ।
सबै निकायको साथ, सहयोगले आकर्षक रङ्गशाला तयार भएपछि क्लबका पदाधिकारी र स्थानीय फुटबल प्रेमी उत्साहित भएका छन् । यही रङ्गशालामा भोलीदेखि प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

रङ्गशालाको उद्घाटन समारोहमा मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीलगायतको आतिथ्यता रहेको थियो । ओझेल र उपेक्षामा परेको फुटबल मैदानलाई जीवेश्वर यूवा क्लबका पदाधिकारीले सक्रियता देखाएर रङ्गशाला नै बनाएका हुन् ।
सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेशसभा सदस्य बेची लुङ्गेलीले आफ्नो संसदीय विकास कोषबाट प्रदान गरेको १० लाख रुपियाँले खेल मैदान स्तरोन्नतिको काम सुरु गरिएको थियो । रङ्गशाला निर्माण गर्न अहिलेसम्म प्रदेशसभा सदस्य लुङ्गेलीले प्रदान गरेको १० लाख रुपियाँसहित प्रदेश खेलकुद मन्त्रालयको ६५ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदान गरेको १५ लाख र वडा कार्यालयले प्रदान गरेको १७ लाख रुपियाँ खर्च भएको क्लबका सल्लाहकार राजु राईले बताए ।

रङ्गशालाका लागि विभिन्न व्यक्तिहरुले दराज, कुर्सी, टेबल, पङ्खा, बत्ती, बोरिङसहितका सामग्री सहयोग गरेका जीवेश्वर यूवा क्लबले जनाएको छ । रङ्गशालामा पिसजोन इङ्गलिस बोडिङ्ग स्कुल लालबन्दी १ र कम्यूनिटी वेलफेयर इङ्गलिस स्कुल लालबन्दी ६ ले एक/एक वटा प्लेयर बक्स निर्माण गरिदिएका छन् ।
