मलंगवा, १४ माघ – सर्लाही सदरमुकाम मलंगवामा आज हात्तीपाइले रोगविरुद्ध सञ्चालन हुने आम औषधि सेवन अभियानबारे संचारकर्मीसँग अन्तरक्रिया गरिएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका डा. शशि बडेल, सौरभ बगाले, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलगायत जिल्लाका संचारकर्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख डा. झाले हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान जिल्लाका १२ वटा पालिकामा सुरु भइसकेको जानकारी दिए । यस वर्ष ४ लाख ३० हजार ९ सय ४१ जनालाई लक्षित गरी अभियान सञ्चालन गरिएको उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा डा. बडेलले हात्तीपाइले रोगका लक्षण, विश्वव्यापी अवस्था तथा औषधिको प्रयोग र प्रभावकारिताबारे प्रस्तुतीकरण गरेका थिए । सर्लाहीका १२ वटा पालिकामा कुल जनसंख्याको कम्तीमा ८० प्रतिशतलाई औषधि सेवन गराउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका मनोज झाले बताए ।