गोडैता, १४ माघ – दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने गोडैता नगरपालिकाका प्रमुख (मेयर) देवेन्द्रकुमार यादवले प्रमुख प्रशासकीय अधिकृत नपठाएसम्म नगरपालिका कार्यालय नआउने घोषणा गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाउँदा धाउँदै हैरान नभएपछि नगरप्रमुख यादवले अब आफू आजदेखि कार्यालयमा उपस्थित नहुने बताएका हुन् । गोडैता नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत उपसचिव शम्भुप्रसाद यादव मंसिर २४ गते सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएर गएदेखि गोडैता नगरपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन् ।
मन्त्रालयले पुस १४ गते उपसचिव हेमबहादुर कार्कीलाई गोडैताको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेर पठायो । तर कार्की हालसम्म पनि हाजिर हुन आएका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दै आफू तीन पटक काठमाडौं धाइसके पनि मन्त्रालयले कुनै कर्मचारी पठाउन नसकेको नगरप्रमुख यादवले उज्यालो अभियानसँग गुनासो गरे ।

प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको गएको कात्तिकदेखि तलब निकासा हुन नसकेको र सामाजिक सुरक्षा भत्ता पनि रोकिन पुगेको नगरप्रमुख यादवले सुनाए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोवार र विकास निर्माणका सम्पूर्ण काम ठप्प भएकाले असाध्य तनाव भइरहेको नगर प्रमुख यादवले गुनासो गरेका छन् ।
कार्यालय जाँदा पनि प्रमुख प्रशासकिय अधिकृत नहुँदा कुनै काम नै नहुने भएकाले विज्ञप्ती नै जारी गरेर कार्यालय नजाने घोषणा गरेको यादवले बताए । आर्थिक कारोवार ठप्प हुँदा कार्यालयमा दैनिक आवश्यक पर्ने सरसामग्री, विद्यालयहरुमा स्यानेटरी प्याड, स्वास्थ्य संस्थामा औषधिको अभाव हुन थालेको छ ।
संघीय मामिला तथा सामान्य मन्त्रालयले बेलैमा प्रमुख प्रशासकीय अधिकृत नपठाइदिने र पठाएका कतिपय अधिकृत हाजिर हुनै नआउने परिपाटीले मधेशका स्थानीय तहहरु यस्तो समस्याबाट गुज्र्रदैँ आएका छन् ।