लालबन्दी, १३ माघ – परराष्ट्र मन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज साँझ सर्लाहीका सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् ।
लालबन्दी नगरपालिका २ स्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेक जुटपानीमा आज साँझ जिल्लाका सुरक्षा अधिकारीहरुलाई निर्वाचन लक्षित निर्देशन दिँदै मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । उनले यो पटक सर्लाहीमा मुलुकका शीर्षस्त नेताहरु समेत आएर चुनावी मैदानमा होमिएकाले थप चनाखो भएर कुनै विवाद सिर्जना नहुने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिएका सर्लाहीका एक सुरक्षा अधिकारीले उज्यालो अभियानसँग बताए ।
मन्त्री शर्मा निर्वाचन लक्षित शान्ति, सुरक्षाको अवस्था र तयारीबारे बुझ्ने क्रममा आज साँझ सर्लाही आइपुगेका हुन् । उनले जिल्ला सदरमुकाम मलंगवा नै पुगेर सुरक्षा अधिकारीहरुलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको थियो तर समय अभावका कारण सुरक्षा अधिकारीलाई अपर्झट पाँचकुमारीस्थित नेपाली सेनाको गणमै बोलाएर छलफल गरेका हुन् ।
मन्त्री शर्मालाई प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेललगायतले सुरक्षा अवस्था र चुनावी तयारीबारे जानकारी गराएर बिदाई गरेका छन् ।
निर्वाचन सुरक्षा रणनीति बनाउनकै लागि जिल्लाका सुरक्षा अधिकारीहरुले अहिले मतदानस्थलको निरीक्षण गर्दै आइरहेका छन् ।
सर्लाहीमा ३१२ मतदानस्थलमध्ये १५८ अति संवेदनशील, १३१ संवेदनशील र २३ वटा सामान्य सूचीमा रहेका रहेका छन् ।
चारवटै निर्वाचन क्षेत्रमा कूल पाँच लाख ११ हजार ६०६ मतदाता रहेको सर्लाहीमा क्षेत्र नं. १ बाट २८ जना, क्षेत्र नं. २ बाट ३१ जना, क्षेत्र नं. ३ बाट ३४ जना र क्षेत्र नं. ४ बाट ३८ जना गरी १३१ जना जना चुनावी प्रतिस्पर्धामा रहेका जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी दिए ।