logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

फागुन २१ पछि कांग्रेसले नै देश सम्हाल्छ : सभापति थापा


  • उज्यालो अभियान

बलरा नगरपालिका ९ छतौनामा कार्यकर्तालाई सम्वोधन गर्दै कांग्रेस सभापति गगनकुमार थापा । (तस्बीर : उज्यालो अभियान)

छतौना, १३ माघ – नेपाली कांग्रेसका सभापति एवं फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताएका छन् ।

आज बिहान सर्लाहीको बलरा नगरपालिका–९, छतौनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै थापाले देश चलाउने तागत कांग्रेससँग मात्र रहेको दावी गरेका हुन् । अहिलेको अवस्थामा बदलिएर अघि बढिरहेको नेपाली कांग्रेस नै देशको नयाँ पार्टी रहेको सभापति थापाको दावी छ ।

चुनावमा आम नागरिकमा भ्रम छर्न नयाँ नारा दिएर नयाँ पार्टी खोल्ने परिपाटी रहेको उनले बताए । पछिल्लो समय टिकट लिनकै लागि रातारात पार्टी परित्याग गर्ने परिपाटी ठीक नभएको कांग्रेस सभापति थापाको भनाइ छ ।

भ्रष्टाचारको न्यूनिकरण र सुशासन कायम गर्ने कांग्रेसको मुख्य उद्देश्य रहेको कांग्रेसका नवनिर्वाचित सभापति थापाको भनाइ छ । ३ पटक लगातार जितेको काठमाडौं ४ छाडेर सर्लाही ४ मा आएको विषयमा थापाले बागमतीको एउटा किनारबाट अर्को किनारमा आइपुगेको बताए ।

उनले फागुन २१ को निर्वाचनपछि कांग्रेसले सबैलाई समेटेर अघि बढ्ने बताए । आफ्नो निर्वाचन क्षेत्रमा सोमबार आइपुग्नुभएका कांग्रेस सभापति थापाले सर्लाही ४ का विभिन्न स्थानमा पुगेर अगुवा नेता, कार्यकर्तासँगको भेटघाट तीव्र पारेका छन् ।

कांग्रेस सभापति थापासँगै सर्लाही ४ बाट प्रतिस्पर्धामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंह, नेकपा एमालेका अमनिसकुमार यादव, नेपाली कम्युनिष्ट पार्टीका रजनिस राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादवलगायत ३८ जना उम्मेदवार पनि घरदैलोमा ब्यस्त रहेका छन् ।