बरहथवा, १२ माघ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा अहिले दिउँसो सर्लाही आइपुगेका छन् ।

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा जिल्ला आइपुगेका हुन् । विमानमार्फत सिमरा विमानस्थल हुँदै आएका थापालाई नेता, कार्यकर्ताले सर्लाही र रौतहटको सीमामा स्वागत गरे ।

थापा सर्लाहीको मूर्तियास्थित मुक्तेश्वर बाबाधाम मन्दिरमा दर्शन सकेर हजरियास्थित आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा प्रवेश गर्दै छन् । सभापति थापाले अब धनकौलस्थित क्षेत्र नं. ४ को नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति पार्टी कार्यालयमा कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति सुरेन्द्रप्रसाद सिंहले उज्यालो अभियानसँग बताए ।

सिंहका अनुसार पार्टी सभापति थापा तत्काल ४ दिन सर्लाही ४ मै बसेर नेता, कार्यकर्तासँग भेटघाट र मतदातासँग भेट गर्ने कार्यक्रम रहेको छ । पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक मधेश प्रदेशमा आएका थापालाई बारा, रौतहटमा समेत नेता, कार्यकर्ताले स्वागत गरेका छन् ।

पार्टी सभापति थापालाई सिमरा विमानस्थलमा स्वागत गर्दै सह–महामन्त्री फरमुल्लाह मन्सुर, मधेश प्रदेश कार्य समितिका सभापति एवं मधे प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलगायत सर्लाहीसम्म नै आइपुगेका छन् ।
