मलंगवा, ११ माघ – सर्लाहीको मलंगवा नगरपालिका–३, मुस्लिम बस्तीका ७ जना बालबालिकामा दादुरा देखा परेको छ ।
संक्रामक रोग दादुरा पुष्टी भएका ७ जना मुस्लिम बालबालिका ५ वर्ष भन्दा मुनिका छन् । मलंगवा ३ मा डेरा गरी बस्ने चन्द्रनगर गाउँपालिका पोखरियाका १ बालकमा पुस २२ गते दादुरा पुष्टी भएको थियो । ति बालक डेरा गरेर बसेको बस्तीका थप ६ जना बालबालिकामा ३ दिनअघि दादुराको संक्रमण पुष्टी भएको मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले उज्यालो अभियानसँग बताए ।
दादुरा पुष्टी भएका बालबालिका अहिले घरमै ‘आइसोलेटेट’ भएर बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ । मलंगवाको एक क्लिनिकमा उपचारका लागि पुगेका बालबालिकामा शंकास्पद लक्षण देखा परेपछि शुक्रराज ट्रपिकल तथा तथा सरुवारोग अस्पताल टेकुमा रगतको नमूना लगेर परीक्षण गर्दा दादुरा पुष्टी भएको हो ।
दादुरा भाइरसका कारण हुने दादुरा लागेको व्यक्तिमा सुरुमा उच्च ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, ३ देखि ५ दिनपछि अनुहार तथा शरीरका विभिन्न भागमा खटिरा आउनेलगायत लक्षण हुने चिकित्सकले बताएका छन् । दादुराबाट एक जना संक्रमित भए, उसले १२ देखि १८ जनासम्मलाई दादुरा सार्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग हाछयुँ गर्दा, खोक्दा, संक्रमित व्यक्तिले नाक–मुख छोएर हात नधुँदा सजिलै सर्न सक्छ ।
प्रायःजसो बच्चालाई धेरै हुने दादुरा जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ । दादुराबाट बच्न बच्चालाई ९ महिना र १५ महिनामा दुईपटक खोप लगाउने गरिन्छ । खोप लगाउन छुटेका बच्चालाई यो रोग लाग्ने जोखिम बढी हुने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले बताए ।
मलंगवामा अहिले दादुरा देखिएका ७ बालबालिकामध्ये चन्द्रनगर घर भएका बालकालाई एक पटक पनि खोप नलगाएको पाइएको छ । दादुरा लागेपछि धेरैलाई निमोनिया हुने, पखाला लाग्ने, शरीर कमजोर हुने, दुब्लो हुने जस्ता जटिल प्रकृतिका स्वास्थ्य समस्या पैदा हुन सक्ने भएकाले सदरमुकाम मलंगवामा दादुराविरुद्धको विशेष खोप अभियान चलाउने तयारी गरिएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीका खोप फोकल पर्सन सुशील झाले विश्व स्वास्थ्य संगठन, यूनिसेफ, स्वास्थ्य कार्यालय, नगरपालिका कार्यालयलगायत निकायले समन्वय गरेर भोलीदेखि मलंगवा नगरपालिका ३ तथा छेउछाउमा पर्ने वडा नं. २, ४, ८, ९ र १० मा ६ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई ‘इम्युनिटी’ प्रदान गर्नेसहित दादुराविरुद्धको खोप लगाइने जानकारी दिए ।
विद्यालय र मदरसामा पुगेर खोप लगाइने छ । मलंगवामा दादुरा देखा परेपछि तत्काल गर्नुपर्ने प्रतिकार्यबारे आज बिहान जिल्ला खोप सल्लाहकार समितिको बैठक बसेर छलफलसमेत गरिएको छ ।
विशेष खोप अभियान चलाउन मलंगवा नगरपालिकाभित्रका स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र सरसफाईकर्मीलाई आज अभिमुखीकरणसमेत प्रदान गरिसकिएको छ ।
विशेष खोप अभियानका लागि आज बेलुकासम्म विश्व स्वास्थ्य संगठन र यूनिसेफको प्राविधिक टोलीसमेत मलंगवा आउने भएको छ ।