logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मुख्यमन्त्रीको उपस्थितिमा लायन्सले दियो २ करोड बढीको उपकरण


  • उज्यालो अभियान

लालबन्दी, ०७ माघ – लालबन्दीमा संचालित सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई अन्तराष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले २ करोड बढीको आधुनिक उपकरणहरु आज औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायको विशिष्ठ आतिथ्यतामा क्लबले लालबन्दी नगरपालिका–५, जरुवापानीमा संचालित आँखा उपचार केन्द्रको स्तरोन्नतिका लागि २ करोड २० लाख २१ हजार ८६० रुपैयाँ बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरेको हो । उपकरणहरुमा आँखाको अप्रेसन गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्पलगायत रहेका छन् ।

मुख्यमन्त्री यादवले लायन्स क्लबबाट प्राप्त उपकरणले मधेश प्रदेशको मुटुको रुपमा परिचित र मध्यभाग समेत पर्ने लालबन्दीमा आँखाका बिरामीका लागि ठुलो राहत मिलेकोप्रति खुसी प्रकट गरे । अत्याधुनिक उपकरणले लालबन्दी मात्र नभइ मधेश प्रदेशका अन्य जिल्ला र भारतीय नागरिकलाई समेत लाभ मिल्ने मुख्यमन्त्री यादवको विश्वास छ ।

उनले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको बताउँदै सुधारका लागि स्वास्थ्य मन्त्रीलाई कदम चाल्न निर्देशन दिएको बताए । यस्तै प्रदेश सरकारका स्वास्थ्य मन्त्री रायले आँखा उपचार केन्द्र लालबन्दीका लागि लायन्स क्लबले प्रदान गरेको उपकरण संचालन गर्न सक्ने क्षमता भएका प्राविधिक प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने वचन दिएका छन् ।

उनले लालबन्दीमा ट्रमा सेन्टर स्थापना गर्ने योजना रहेको पनि सुनाए । त्यसका लागि पनि आवश्यक बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।

मधेश प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बेची लुंगेलीले लायन्स क्लबबाट प्राप्त उपकरणको सही सदुपयोग गरी यस क्षेत्रका आँखा रोगीलाई नियमित सेवा पाउने व्यवस्था मिलाउन आग्रह गरिन् ।

कार्यक्रम संचालन गरेका लायन्स क्लब इन्टरनेशनलका पूर्व काउन्सिल चेयरपर्सन भरतप्रसाद ढुंगेलले काठमाडौंको तिलगङ्गाको झैँ लालबन्दीमै आँखाको उपचार र शल्यक्र्रियाको व्यवस्था गर्न लागिपरिरहेको जानकारी गराए । उनका अनुसार आवश्यक प्राविधिकहरुको व्यवस्थापन गर्न प्रदेश सरकारलाई घचघच्याउने काम जारी छ ।

अत्याधुनिक मेसिनहरु प्राप्त भएसँगै दक्ष चिकित्सक र प्राविधिकहरु राखेर सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली तथा भारत बिहारका करिव १० लाख मानिसलाई आँखा उपचार सेवा प्रदान गर्ने लक्ष्य रहेको लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले निर्माण गरेको सुविधायुक्त तीन तले भवनको दोस्रो तलामा लायन्य क्लबले उपलब्ध गराएको अत्याधुनिक उपकरणहरु जडान गरिएका छन् । जतिसक्दो चाँडो चिकित्सक र प्राविधिकको व्यवस्थापन गरी आँखाका बिरामीको फेको मेसिनबाट शल्यक्र्रियासहितको उपचार सुरु गर्ने योजना रहेको लालबन्दी रेडक्रसका सभापति ध्रुवप्रसाद घिमिरेले बताए ।

उपकरण हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, पूर्व स्वास्थ्य राज्यमन्त्री राम सिंह, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मालगायतले मन्तव्य राख्दै स्थानीयस्तरमै सुविधायुक्त आँखा अस्पताल संचालनको तयारी भइरहेकोप्रति खुसी व्यक्त गरेका छन् ।

अत्याधुनिक उपकरण हस्तान्तरण कार्यक्रमकै अवसरमा मुख्यमन्त्री यादवले स्तरोन्नति गरिएको आँखा अस्पतालको औपचारिक रुपमा उद्घाटनसमेत गरेका छन् ।