logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सबै राजनीतिक दलले टुंग्याए उम्मेदवार, आज मनोनयन दर्ता गर्दै


  • उज्यालो अभियान

लालबन्दी, ०६ माघ – फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा सम्पूर्ण राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाएका छन् ।

केहीले आज स्वतन्त्रबाट समेत उम्मेदवारी दर्ता गराउँदै छन् ।

निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि आज देशैभर एकैसाथ उम्मेदवारी दर्ताको समय छुट्याएको छ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन सकिने बताए ।

सर्लाहीमा राजनीतिक दलहरुले टिकट वितरण गर्दा पुराना र नयाँ नेता चयन गरेका छन् ।

सर्लाही क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, नेकपा एमालेबाट मनोजकुमार देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमोद कुमार साह, लोसपाबाट रामप्रकाश चौधरीलगायतले उम्मेदवारी दिँदै छन् ।

यस्तै क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट डा. सरोज कुमार, नेकपा एमालेबाट धर्मेन्द्र राय, नेपाली कम्युनिष्ट पार्टीबाट महिन्द्र राय यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राजेन्द्र महतोले उम्मेदवारी दिने तयारी गरेका छन् ।

त्यस्तै क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट विनोदकुमार खनाल, नेकपा एमालेबाट हरिप्रसाद उप्रेती, नेपाली कम्युनिष्ट पार्टीबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्रप्रसाद साहले उम्मेदवारी दिँदै छन् ।

त्यसैगरी सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट वीरेन्द्रप्रसाद सिंह, नेकपा एमालेबाट रवीशंकर सिंह कुशवाहा, नेपाली कम्युनिष्ट पार्टीबाट डा. रजनिस यादव, जसपा नेपालबाट रामेश्वर राय यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरेशकुमार सिंहलगायतले उम्मेदवारी दर्ता गराउँदै छन् ।

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा जसपा नेपाल, जसपा, लोसपा, जनमत, राष्ट्रिय मुक्ति पार्टीलगायत अन्य राजनीतिक दलहरुले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।

प्रतिनिधि सभाको निर्वाचन गराउन सर्लाहीको क्षेत्र नं. १ मा लालबन्दी नगरपालिका १० नं. वडा कार्यालय, क्षेत्र नं. २ मा जिल्ला समन्वय समितिको कार्यालय मलङ्गवा, क्षेत्र नं. ३ मा मालपोत कार्यालय हरिवन र क्षेत्र नं. ४ मा वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।