भोलीको उम्मेदवारी दर्तालाई शान्तपूर्ण बनाउन क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले गरेको सर्वपक्षिय छलफल ।
लालबन्दी, ०५ माघ – सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा भोली हुने उम्मेदवारी दर्ताका लागि तयारी पुरा भएको छ ।
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोली सर्लाहीसहित देशैभर एकसाथ उम्मेदवारी दर्ता हुँदै छ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लामा चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयबाट गुर्नुपर्ने सम्पूर्ण तयारीका काम पुरा भएको अहिले साँझ उज्यालो अभियानसँग बताए ।
प्रतिनिधि सभाको निर्वाचन गराउन सर्लाहीको क्षेत्र नं. १ मा लालबन्दी नगरपालिका १० नं. वडा कार्यालय, क्षेत्र नं. २ मा जिल्ला समन्वय समितिको कार्यालय मलङ्गवा, क्षेत्र नं. ३ मा मालपोत कार्यालय हरिवन र क्षेत्र नं. ४ मा वेणी भोला नमूना विद्यालय गोडैतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । भोली यि चारवटै क्षेत्रका उम्मेदवारहरुले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउन सक्ने छन् ।
भोली साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयभित्र प्रवेश गरिसक्ने उम्मेदवारको मात्र उम्मेदवारी दर्ता हुने मुख्य निर्वाचन अधिकृत थपलियाले प्रष्ट पारे । उनका अनुसार आज चारवटै निर्वाचन क्षेत्रबाट केही उम्मेदवारले भोलीका लागि मनोनयन पत्र लिएर गइसकेका छन् ।
भोलीको मनोनयन दर्तालाई सौहार्दपूर्ण बनाउन आज निर्वाचन अधिकृतको कार्यालयहरुले सर्वपक्षिय बैठकसमेत सम्पन्न गरेका छन् । क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाले सर्वपक्षिय बैठक राखेर उम्मेदवारी दर्ता गर्न आउँदा निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी शान्तिपूर्ण किसिमले आइदिन आग्रह गरिएको बताए । उनका अनुसार क्षेत्र नं. १ मा आज बेलुकासम्ममा १५ जनाले मनोनयन फारम लिएर गएका छन् ।
थापाले दलहरुलाई उम्मेदवारी दर्ता गर्न आउँदा एकै पटक नआएर पालैपालो गरेर आउन पनि आग्रह गरिएको बताए । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले मनोनयन दर्ताका लागि आवश्यक पर्ने सरसामग्री यसअघि नै चारवटै निर्वाचन क्षेत्रमा पठाइसकिएको बताए ।
निर्वाचन अधिकृतको कार्यालयहरुले उम्मेदवारी दर्ताको तयारी पुरा गरे पनि धेरैजसो दलहरुले आज साँझसम्म पनि उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।