logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सकियो माघी महोत्सव : नृत्यमा रौतहट पहिलो


  • उज्यालो अभियान

हरिपुर, ०५ माघ – ‘आठौं राष्ट्रिय तिला संक्रान्त माघी महोत्सव–२०८२’ को अवसरमा आयोजित नृत्य प्रतियोगितामा रौतहट पहिलो बनेको छ ।

सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन पचगछियामा गएराति सम्पन्न महोत्सवको प्रमुख आकर्षण रहेको थारु नृत्यमा चन्द्रपुर नगरपालिका मोतियाही रौतहट पहिलो हुन सफल भएको हो । नृत्य प्रतियोगिताको बिजेता चन्द्रपुरले २१ हजार ५०० रुपियाँ नगदसहित १५ ग्राम चाँदी र शिल्ड प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा श्रेया ग्रुप पचगछिया हरिपुर दोस्रो र एभरेष्ट एकेडेमी लालबन्दी तेस्रो भएका छन् । दोस्रो भएको श्रेया ग्रुपलाई नगद १६ हजार ५०० रुपियाँ र १० ग्राम चाँदी तथा तेस्रो भएको एभरेष्ट एकेडेमीलाई नगद ११ हजार ५०० र पाँच ग्राम चाँदी प्रदान गरिएको आयोजक हरिपुर थारु कला संस्कृति आयोजना समितिले जनायो ।

नृत्य प्रतियोगितामा सर्लाही, रौतहट र पर्साका २५ वटा समूहले सहभागिता जनाएका थिए । पहिलो, दोस्रो र तेस्रो भएका समूहबाहेक अन्य सहभागी समूहलाई समेत सान्त्वना पुरस्कार वितरण गरिएको छ ।

मधेश सरकारका स्वास्थ्यमन्त्री जंगीलाल राय, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, संविधान सभा सदस्य रामचन्द्र चौधरी, निवर्तमान प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, आयोजक समितिका अध्यक्ष ललित चौधरी, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरीलगायत भएर पुरस्कार वितरण गरेका छन् ।

‘नेपालके आदिवासी जनजाति के शान, थारु कला संस्कृति हमर पहिचान’ भन्ने मूल नारासहित माघ २ गतेदेखि सुरु भएको माघी महोत्सव गएरातिबाट सम्पन्न भएको आयोजकलाई उदृत गर्दै शिक्षक नाथुराम चौधरीले जानकारी दिए ।