लालबन्दी, ०४ माघ – सर्लाहीको लालबन्दी नगरपालिकाले तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा पर्सी माघ ६ गते पनि बिदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायले सोनाम ल्होसार पर्व भोली धुमधामसँग मनाउँदै छन् । पर्वको अवसरमा भोली संघीय सरकारले देशभर नै सार्वजनिक बिदा दिएको छ ।
लालबन्दी नगरपालिकाले भने पर्सी थप एक दिन बिदा दिने निर्णय गरेको हो । नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिले सोनाम ल्होसारको अवसरमा बिदा दिन माग गरे अनुसार नगरपालिका कार्यालयले आज सूचना जारी गर्दै पर्सी ६ गते नगरपालिका, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरु तथा आफू मातहतका अन्य कार्यालयहरुमा बिदा दिएको हो ।
नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिले सोनाम ल्होसार पर्व भोली लालबन्दी नगरपालिका १५ बोहोरेडाँडामा रहेको गाङदेन छ्योइलिङ गुम्बामा धुमधामसँग मनाउँदै छ । समितिले आज साँझ लालबन्दीमा पत्रकार सम्मेलन गरी भोली आयोजना गरिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिका अध्यक्ष एवं लालबन्दी ८ का वडाध्यक्ष शुक्रबहादुर पाख्रिन, लालबन्दी ६ का वडाध्यक्ष लालबहादुर योन्जन, घेदुङका जिल्ला अध्यक्ष वुद्ध लामालगायतले भोलीको कार्यक्रमलाई सफल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।
सोनाम ल्होसारको अवसरमा भोली लालबन्दीसहित ईश्वरपुर, हरिवन, बागमती, बरहथवा र हरिपुर नगरपालिकामा रहेका तामाङ गुम्बाहरुमा विविध कार्यक्रम आयोजना हुँदै छन् ।