हरिवन, ३० पुस – सर्लाहीको हरिवनमा नारायण उप्रेतीको ३३ औँ स्मृति दिवस हिजो मनाइएको छ ।
हरिवन नगरपालिका ११ स्थित वडा कार्यालय परिसरमा रहेको स्व. उप्रेतीको शालिकमा माल्र्यापणसहित विद्यार्थीलाई सम्मान गर्दै स्मृति दिवस मनाइएको हो । नारायण उप्रेती स्मृति प्रतिष्ठानका अध्यक्ष राजकुमार उप्रेतीको अध्यक्षता एवं सर्लाही क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाइएको आयोजकले जनाएको छ ।
नारायण उप्रेतीका बिचारलाई नयाँ पुस्तामाझ फैलाउने, उनको योगदानलाई स्मरण गर्ने र उनीप्रति सम्मान गर्ने उद्देश्यले हरेक वर्ष पुस २९ गते यस प्रकारको कार्यक्रम आयोजना गरिँदै आएको प्रतिष्ठानका संस्थापक सदस्य चूडामणि वाग्लेले जानकारी दिए । उनका अनुसार केही दिनअघि विद्यालयस्तरमा गरिएको वतृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थी, एसइई र प्ल टू मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत हिजो स्मृति दिवसकै दिन पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा स्व. नारायण उप्रेतीका गुरु तथा सहकर्मीहरुले उनको व्यक्तित्वको चर्चा गरेका छन् ।
कार्यक्रममा पूर्व मन्त्री उप्रेती, स्व. उप्रेतीका गुरु बासुदेव निरौला, गीता घिमिरे, स्व. उप्रेतीका सहकर्मी एवं तत्कालिन हरिवन गाविसका उपाध्यक्ष डिल्लीप्रसाद उप्रेती, नेपाली कांग्रेसका नेता डाकुरनाथ खतिवडा, नेपाली कम्युनिष्ट पार्टीका नेता अर्जुन पन्तलगायतले मन्तव्य व्यक्त गरे ।