हरिवन, २७ पुस – स्थानीय परिकार र उत्पादनको प्रवद्र्धन तथा बजारलाई चलायमान बनाउने उद्देश्यसहित सर्लाहीको हरिवनमा आज तेस्रो खाना महोत्सव सम्पन्न गरिएको छ ।
हरिवन चेम्बर अफ कमर्सको आयोजनामा पूर्वपश्चिम राजमार्गस्थित हरिवन चोकमा खाना महोत्सव गरिएको हो । यस प्रकारको महोत्सवले विस्तारै चलायमान बन्न थालेको बजारलाई थप चलायमान बनाउने टेवा पुग्ने हरिवन चेम्बर अफ कमर्सका अध्यक्ष कृष्ण ओमपोतेले जानकारी दिए ।
उनका अनुसार खाना महोत्सवमा हरिवन तथा आसपासका पालिका र सिन्धुलीको मरिण क्षेत्रका स्थानीयसमेत आएर अवलोकन गरेका छन् । खाना महोत्सवको माध्यमबाट स्थानीय परिकार र व्यवसायीबारे जानकारी प्रदान गर्ने उद्देश्यसमेत रहेको चेम्बर अफ कमर्सका अध्यक्ष ओमपोतेको भनाइ रहेको छ ।
खाना महोत्सवमा स्थानीय व्यवसायीले खानाका परिकार, किसानले उत्पादन गरेको कृषि उपज, सहकारी संस्थाका स्टल र उद्योगले उत्पादन गरेका विभिन्न प्रकारका चिजवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको थियो । ‘बाटोमा खाउँ, बाटोमै रमाऊ’ भन्ने नारासहित खाना महोत्सव गरिएको हो ।
पर्यटकीय नगरी पोखरा, सौरहालगायतका स्थानमा पनि यस प्रकारको खाना महोत्सव आयोजना हुने गरेका छन् ।