logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

माघे संक्रान्ति नजिकियो : तरुल खन्ने चटारो (फोटो फिचर)


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/जिरायत, २५ पुस – सर्लाहीको पश्चिम भेगमा हिजोआज माघे संक्रान्तिमा फलहारको रुपमा खाइने तरुल खन्ने चटारो छ ।

बागमती र बरहथवा नगरपालिकाको बागमती नदी तटीय क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती हुने गरेको छ । धमाधम मजदुर लगाएर तरुल खनिरहेका व्यापारीलाई काठमाडौं लगेर तरुल बेच्न हतारो छ ।

माघे संक्रान्ती आउन अब ५ दिन मात्रै बाँकी छ । त्यसैले पनि तरुल खनेर सिध्याउने चटारो परेको हो । बागमती नगरपालिका–४, जिरायतका किसान बिशाल वाइबाले आफूले यो वर्ष पाँच कठ्ठामा रोपेको तरुल व्यापारीलाई ७० हजार रुपियाँमा बिक्री गरेको बताए ।

जमिनभित्र रहेको तरुल के कति फलेको छ भन्ने थाहा नहुने भएकाले व्यापारीले बोट हेरेर मुल्य लगाउने गरेको वाइबाको भनाइ छ । बाक्लो र मोटो बोट भएको ठाउँमा व्यापारीले पाँच कठ्ठाको तरुललाई एक लाख २० हजारसम्म मुल्य दिएका किसानले बताएका छन् ।

बागमती बगरको नदी तटीय क्षेत्रमा आफू पनि तरुल खेती गर्ने र अन्य किसानबाट समेत तरुल किन्ने जिरायतकै नरेश महतोले यो वर्ष तरुलले राम्रो मुल्य नपाएको गुनासो गरेका छन् । सर्लाहीदेखि काठमाडौंको कालिमाटी तरकारी बजारसम्म पुर्याउँद्या तरुल प्रतिकेजी ५० देखि ६० रुपियाँसम्ममा बिक्री भइरहेको उनले बताए ।

खुद्रामा उपभोक्ताले खरिद गर्दा दोब्बर बढी मुल्य तिर्नु परे पनि यहाँदेखि आफूहरुले लगेर थोक व्यापारीलाई तरुल बेच्दा मुल्य नै नपाएको महतोको गुनासो छ । बागमती फाँटमा धमाधम तरुल खन्ने काम भइरहँदा सयौँ मजदुरले तरुल खनेरै राम्रो आम्दानी गरिरहेका छन् ।

सर्लाहीको दक्षिणी भेगका विभिन्न गाउँबाट युवादेखि वृद्ध उमेरका मानिस तरुल खन्न बागमती क्षेत्रमा आइपुगेका छन् । बागमतीमा तरुल खन्दै गर्दा भेटिएका चक्रघट्टा गाउँपालिका–२, बेल्हीका ६६ वर्षीय उपेन्द्र रामले एक क्विन्टल तरुल खन्दा व्यापारीले ८०० रुपियाँ दिने गरेको बताए । एक दिनमा एक जना मजदुरले दिनमा टेढ क्विन्टलसम्म तरुल खन्छन् ।

सर्लाहीको बागमती, राजघाट, सोल्टी, हजरिया, बरहथवालगायत क्षेत्रमा धेरै किसानले तरुल खेती गर्ने गरेकोमा पछिल्लो समय भने तरुल खेती गर्न छाडेर हाइब्रिड मकैको खेती गर्न थालेका छन् ।