logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन आएर दुर्गा प्रसाईले भने–फागुन २१ मा चुनाव हुन दिन्नौँ


  • उज्यालो अभियान

आफ्नै निजी सुरक्षाकर्मीहरुबाट घेरिएर कार्यक्रममा सम्बाेधन गर्दै दुर्गा प्रसाईं । (तस्बिर : उज्यालाे अभियान)

हरिवन, २५ पुस – मेडिकल व्यववसायी एवं अभियन्ता दुर्गा प्रसाईले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन हुन नदिने दावी गरेका छन् ।

गएसाँझ सर्लाहीको हरिवनमा आफ्ना समर्थकलाई समर्थन गर्दै प्रसाईले आफूहरु फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनको विरुद्धमा उत्रिएको बताएका हुन् । फागुन २१ को चुनाव हुन दिन फागुन १ गतेदेखि नै देशव्यापी बन्द, हड्ताल सुरु गर्ने उनको भनाइ छ ।

प्रसाईले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङ पश्चिमा देशहरुबाट परिचालित भएको आरोपसमेत लगाए ।

दुर्गा प्रसाईंले सम्बाेधन गरेकाे कार्यक्रमस्थल । (तस्बिर : उज्यालाे अभियान)

रवि, बालेन्द्र, कुलमानजस्तालाई जिताउनकै लागि फागुन २१ को निर्वाचन गराउन लागिएकाले यसको सशक्त विरोध गर्ने बताए । २०८४ काे चुनाव २०८२ मा गर्नका लागिमात्रै जेनजी आन्दाेलन नभएकाले आफूहरु याे निर्वाचनकाे विरुद्ध लागेकाे उनकाे भनाई थियाे ।

`फागुन १ गते तपाइहरु सम्पूर्ण राजमार्गमा लम्पसार पर्नाेस्, ५ दिनमै हाम्राे अभियान सफल हुन्छ,' प्रसाईंले भने, `राज्यले बैंक, सहकारी तथा लघुवित्तपीडितहरुकाे पीडालाई सम्बाेधन नगरेसम्म म मर्नपनि तयार छु, तर तपाइहरुकाे साथ चाहिन्छ ।’

कार्यक्रममा अधिकांश महिलाहरुकाे सहभागिता थियाे । सहकारी र लघुवित्तबाट ऋण लिएका महिलाहरु प्रसाईंकाे ऋण मिनाहा गराउने अभियानलाई साथ दिन कार्यक्रमस्थलमा आएका एक सहभागिले जानकारी दिए ।

बैंक, सहकारी तथा लघुवित्त पीडित भनिएकाहरुलाई भेट्दै अघि बढेका प्रसाई हरिवनमा साँझ ६ बजे आइपुगेर २० मिनेटजति सम्वोधन गरेर पूर्वतर्फ लागे । प्रसाईं दिउँसै आउने भनिएपनि साँझमात्र हरिवन स्थित महेन्द्र राजमार्गकाे पूर्वी लच्का छेउमा राखिएकाे कार्यक्रमस्थल आइपुगेका थिए । चितवन, हेटाैंडा, चपुर लगायत ठाउँहरुमा पनि भेटघाट र सम्बाेधन गर्दै आउनु परेकाले हरिवन आइपुग्न ढिला भएकाे उनकाे प्रष्टिकरण थियाे ।

(नाेट : थप सम्पादन गरिएकाे)