उद्योग वाणिज्य संघ हरिवनका वर्तमान पदाधिकारी ।
सन्जु कर्ण/ हरिवन २३ पुस – उद्योग वाणिज्य संघ हरिवनले नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशबाट सदस्यता प्राप्त गरेको छ ।
प्रदेश महासंघले हरिवनलाई मधेश प्रदेशको जिल्ला÷नगर तर्फको सदस्यता प्रदान गरेको हो । योसँगै अब प्रदेशस्तरको उद्योग वाणिज्य महासंघको निर्वाचनमा हरिवन उद्योग वाणिज्य संघले पनि मतदान गर्ने अधिकार प्राप्त गरेको छ । मतदानको अधिकारसहित प्रदेश महासंघले उपलब्ध गराउने सेवा, सुविधा र अभियानमा उद्योग वाणिज्य संघ हरिवन सामेल हुने अवसर प्राप्त भएको अध्यक्ष प्रयाजराज पोतेले जानकारी दिए ।
प्रदेश महासंघको सदस्यता लिन संघले केही समयदेखि प्रयास गर्दै आइरहेको थियो । प्रदेशबाट सदस्यता प्राप्त भएसँगै अब केन्द्रीय महासंघबाट पनि सदस्यता प्राप्तीका लागि पहल गर्ने तयारी रहेको उद्योग वाणिज्य संघ हरिवनका उपाध्यक्ष दिनेश केसीले बताए ।
सर्लाहीमा अहिलेसम्म लालबन्दी र मलंगवा उद्योग वाणिज्य संघले मात्र केन्द्रीय महासंघको सदस्यता प्राप्त गरेका छन् ।