logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अधिकांश खोलामा पुल नहुँदा सास्ती


  • उज्यालो अभियान

मनिषबहादुर बुढाथोकी/परवानीपुर, २२ पुस – बाँके, फूलजोर र लखन्देही खोलामा पुल निर्माण नहुँदा सर्लाहीको एक दर्जन बढी पालिकाका वासिन्दा जहिल्यै सास्ती खेप्न बाध्य छन् ।

महोत्तरी, सर्लाही र सिन्धुलीको चुरेभेगदेखि बगेर आउने यि तीन खोलाको दर्जनौँ ठाउँमा वारपार गर्ने सडक भए पनि पुल नहुँदा सर्वसाधारणले सास्ती झेलिरहेका हुन् । चुरेभेगदेखि दक्षिण भारतीय सीमासम्म नै बग्ने बाँके, फूलजोर र लखन्देही खोलामा पूर्वपश्चिम राजमार्ग र हुलाकी सडकबाहेक अन्यत्र पुल निर्माण हुन सकेको छैन् ।

वर्षायाममा बाढी आएका बेला खोलामा पुल नहुँदा आउजाउ नै ठप्प हुने गरेको छ । अहिले हिउँदयाममा खोलामा पानी नहुँदासमेत बालुवा र ढुङ्गाका कारण मुस्किलसँग सवारी साधन वारपार गरिरहेका छन् ।

यि तीनवटै खोलामा पुल नहुँदा चुरेवर्ती क्षेत्रमा अझ बढी समस्या रहेको छ । महोत्तरीको बर्दिवास नगरपालिका–११ देखि सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन हुँदै बागमतीसम्म पुग्ने गरी चुरेको फेदी नै फेदी सडक भए पनि खोलाहरुमा पुल रहेका छैनन् ।

भर्खरै लालबन्दी नगरपालिका–,१६ स्थित परवानीपुरमा पर्ने कालिन्जोर खोलामा बल्ल पुल बनेको छ । अन्य ठाउँमा भने खोलाबाटै आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।

लालबन्दी नगरपालिका–१५, देउरालीका शङ्कर केसीले लालबन्दी र ईश्वरपुर नगरपालिकालाई जोड्ने फूलजोर खोलामा पुल नहुँदा जहिल्यै सास्ती खेप्दै आएको गुनासो गरेका छन् । पहिलेको तुलनामा बाटो राम्रै बन्न थाले पनि खोलामा पुल नहुँदा वर्षायाममा वारपार गर्नै समस्या रहेको उनले बताए ।

महोत्तरीको बर्दिवास नगरपालिका–११, खयरमारा र सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरलाई जोड्ने गरी पुल निर्माण गरिदिन माग गर्दै ईश्वरपुर नगरपालिकाले तीन वर्षअघि सडक विभागसँग बजेट माग गरेको थियो । नगरप्रमुख मनोजकुमार आचार्यले चुरे श्रृङ्खलाको फेदी भएर परापूर्वकालदेखि सञ्चालनमा रहेको बर्दिवास–बागमती भित्ते सडक सञ्चालनका लागि बाँके खोलामा पुल निर्माणका लागि सङ्घीय सरकारलाई घच्घच्याउने काम गरे पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

पालिका मात्रैले पुल निर्माण गर्न सक्ने अवस्थ नरहेको नगरप्रमुख आचार्यको भनाइ छ । स्थानीय वासिन्दाको जनजीविकासँग जोडिएको चुरेफेदीको रणनीतिक सडक निर्माणका लागि बारम्बार आवाज उठे पनि उचित सुनुवाइ हुन सकेको छैन् ।

चुरेफेदीमा पुल निर्माण नभए पनि पालिका र प्रदेश सरकार मिलेर सडक भने लगभग कालोपत्रे गरिसकेका छन् । बाँके, फूलजोर र लखन्देही खोलामा पुल नहुँदा पूर्वपश्चिम राजमार्ग क्षेत्रदेखि दक्षिणी भेगमा पनि समस्या छ ।

वर्षायाममा त स्थानीय वासिन्दा बाढी तरेर जान नसक्दा पूर्वपश्चिम राजमार्गमा निस्किएर वारपार गर्ने गरेका छन् । हरिपुर नगरपालिका–१, हजारबिघाका वडाध्यक्ष नानीबाबु थापाले लखन्देखी खोलामा पुल निर्माणका लागि धेरै पटक मन्त्रीहरु भेट्ने र मन्त्रालयलाई पत्र लेख्ने काम गरे पनि सुनुवाइ नै नभएको बताए ।

दक्षिण–पूर्वी भेगस्थित सर्लाहीतर्फको हरिपुर्वा नगरपालिका र महोत्तरीतर्फको गौशाला नगरपालिकालाई जोड्ने बाँके खोलामा पुल नहुँदा स्थानीय हैरान छन् । अहिले हिउँदमा जसोतसो गरेर वारपार गर्ने गरे पनि वर्षायाममा कि पूर्वपश्चिम राजमार्ग कि त हुलाकी राजमार्गको पुल भएर घुमाउरो किसिमले आउजाउ गर्नुपर्ने बाध्यता रहेको हरिपुर्वा नगरपालिकाका प्रमुख नगरप्रमुख शियाराम रायले बताए ।

उहाँले बाँके खोलामा पुल नहुँदा एक जिल्लाबाट अर्को जिल्लामा हाटबजार भर्न, खेती गर्न जान तथा अन्य कामका लागि आउजाउ गर्न सास्ती रहेको जानकारी दिए । अब फागुन २१ को निर्वाचन नजिकिएसँगै स्थानीय वासिन्दाले यि तीनवटै खोलाहरुमा पुल निर्माणको विषयलाई चर्चामा ल्याउन थालेका छन् ।