logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नगर अस्पताल लालबन्दीमा ‘कल्चर परीक्षण सेवा’ सुरु


  • उज्यालो अभियान

लालबन्दी, २५ भदौ – नगर अस्पताल लालबन्दीमा आजदेखि ‘कल्चर परीक्षण सेवा’ सुरु गरिएको छ ।

उक्त सेवाको आज नगरप्रमुख वासुदेव अधिकारीले उद्घाटन गरेका हुन् । स्वास्थ्य क्षेत्रमा कल्चर परीक्षण सेवा भन्नाले बिरामीको शरीरमा कुन ब्याक्टेरिया, फङ्गस वा भाइरसको सङ्क्रमण भएको छ र त्यसका लागि कुन एन्टिबायोटिकले ठीक गर्छ भनी पत्ता लगाउन गरिने ल्याब परीक्षण हो । नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले दिएको जानकारी अनुसार अस्पतालमा रगत (ब्लड) र पिसाब (युरिन) मार्फत कल्चर परीक्षण गरिने छ ।

यो सेवा लिन सर्लाहीका स्थानीय वीरगन्ज वा जनकपुर धाउन बाध्य थिए । नगर अस्पताल लालबन्दीले आफूसँग उपलब्ध भएका र थप एक जना प्रयोगशालाका कर्मचारीसमेत नियुक्त गरेर कल्चर परीक्षण सेवा सुरु गरेको हो ।

नयाँनयाँ स्वास्थ्य सेवा थप गर्दै लगेको नगर अस्पताल लालबन्दीले कल्चर परीक्षण सेवा अन्तर्गत रगतमार्फत गरिने परीक्षणका लागि ३५० रुपैयाँ र पिसाबमार्फत गरिने परीक्षणका लागि १५० रुपैयाँ शुल्क तोकेको छ ।