अनिता देवकोटा/लालबन्दी, २३ भदौ – लालबन्दी नगरपालिका वडा नं. १० चन्द्रपुरलाई नेपालको दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ ।
वडा कार्यालय र बाल संरक्षण संस्थाले आज पत्रकार सम्मेलन गरी यही भदौ २५ गते बिहीबार लालबन्दी १० लाई देशभरमै दोस्रो मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको जानकारी गराएका हुन् । वडाभित्र महिनावारी हुँदा महिलामाथि हुने विभेद र छुवाछुत अन्त्य भएको दाबी गर्दै मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको हो ।
वडाध्यक्ष टोपबहादुर श्रेष्ठले वडाभित्र प्रत्येक घरपरिवारमा महिनावारी हुँदा विभेद र बार्नेक्रम रोकिएको पत्रकार सम्मेलनमा दाबी गरेका छन् । महिला महिनावारी हुँदा गरिने विभेद अन्त्यका लागि लागि वडा कार्यालयले विगत ३ वर्षदेखि राधा पौडेल फाउन्डेसन र बाल संरक्षण संस्था लालबन्दीसँग समन्वय गरी सचेतनामूलक अभियान संचालन गर्दै आइरहेको थियो ।
“यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि मर्यादित महिनावारी ” परियोजना अन्तर्गत यसअघि गत बैशाख ११ गते लालबन्दी नगरपालिका ३ जब्दीलाई नेपालकै पहिलो मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिएको थियो ।
प्रत्येक घरमा गएर सर्भे गर्दा लालबन्दी १० का सम्पूर्ण महिलाले महिनावारीको समयमा कुनै विभेद र छुवाछुत भोग्न नपरेको बताएका र नेपाल सरकारले बनाएको अन्य आवश्यक सूचकसमेत पूरा गरेर मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले बताईन् ।
पत्रकार सम्मेलनमा उपस्थित जनप्रतिनिधि, महिला अधिकारकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतले महिलामा प्राकृतिक प्रक्रियाकै रुपमा नियमित हुने महिनावारीलाई सामान्य विषय हो भनी बुझाएर विभेद तथा भेदभाव चिर्न सफल भएकोप्रति खुसी व्यक्त गर्नुभएको परियोजनाकी संयोजक सम्झना धितालले जानकारी दिईन् ।