लालबन्दी, २० पुस – लालबन्दी नगरपालिका २ स्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेकले आज बिहानै लालबन्दी बजार र आसपासमा आगो ताप्नका लागि दाउरा वितरण गरेको छ ।
निरन्तरको शीतलहरले चिसो बढेर प्रभावित भइरहेका स्थानीय मासिन, बटुवा र यात्रुलाई मध्यनजर गरी लालबन्दी बजार क्षेत्रमा पर्ने वडा नं. ६, ७ र ९ तथा बजारदेखि दक्षिण लालबन्दी ३, ४ र ५ स्थित जब्दी इलाकामा दाउरा वितरण गरिएको कालीध्वज गणका गणपति एवं प्रमुख सेनानी उमेश खड्काले उज्यालो अभियानसँग बताए । उनका अनुसार नेपाली सेनाले चोक बजारमा दाउरा खसालेर आफै आगो बालिदिने र चिसोबाट प्रभावित केही स्थानीयलाई दाउरा वितरण गर्ने कामसमेत गरेको हो ।
लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले सेनाले चोक, बजारमा आगो ताप्ने व्यवस्था मिलाइदिँदा विभिन्न ठाउँबाट बजार भर्न आएका मानिस, पैदलयात्रु र स्थानीय मानिसहरुलाई राहत मिलेको बताए ।
नेपाली सेनाले केही दिनअघि पनि पूर्वपश्चिम राजमार्ग क्षेत्रको नवलुपर, हरिवन र बागमतीमा यसैगरी दाउरा खसालेर आगो ताप्ने व्यवस्था मिलाइदिएको थियो ।